सहकारीमार्फत उद्यमशीलता र व्यवसायिकतामा जोड दिन आवश्यक : मन्त्री अर्याल


हरेकपल January 9, 2020

ललितपुर, २४ पुस । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीमार्फत उद्यमशीलता र व्यावसायिकतामा जोड दिन आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालको २७औँ वार्षिक साधारणसभामा मन्त्री अर्यालले सहकारी अर्थतन्त्रको तीन खम्बामध्येको एक आधारशीला रहेको हुँदा यसमार्फत मुलुकको सबै स्थानमा उद्यमशीलता र व्यावसायिकताको काम अघि बढाउन जरुरी रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “नेपालमा त्यसै खाली बसेका महिला र युवाको हितमा उद्यमशीलताको थुप्रै कार्यक्रम अघि बढाउनुका साथै किसानका लागि व्यावसायिकतामा जोड दिनुपर्ने देखिन्छ ।” अहिले विकासको नाममा जताततै डाँडाकाँडा र बस्ती छियाछिया हुँदै जाँदा दिनप्रतिदिन वातावरण बिग्रँदै गएको मन्त्री अर्यालले औँल्याउनुभयो । मुलुकमा समृद्धिको आधारस्तम्भ नै सहकारी भएकाले महासङघले नयाँ नेतृत्व चयन गर्नुपूर्व यस विषयमा कसलाई अघि बढाउने भनी गहन छलफल गर्न जरुरी रहेकामा मन्त्री अर्यालको जोड थियो ।

“मन्त्रालय, विभाग, महासङ्घ र सोसँग सम्बन्धित सबै निकाय मिलेर यस वर्ष दीर्घकालीन सोचका साथ लागु हुने गरी सहकारीमैत्री कानून बनाउने काम समाप्त गरौँ”, मन्त्री अर्यालले थप्नुभयो, “आगामी दिनमा सहकारी अभियानमार्फत वैदेशिक रोजगारी विस्थापन हुनुपर्छ । एक घर एक व्यक्ति सहकारी सदस्य हुनुपर्छ । देशमा गरीबीको रेखामुनि १८ प्रतिशत जनता रहेका हुँदा सहकारी नै गरीबी निवारणको माध्यम बनाउनुपर्छ ।” नेपाल सरकारको सन् २०३० सम्म गरीबीलाई शून्यमा झार्ने लक्ष्य लिएको मन्त्री अर्यालले बताउनुभयो ।

आगामी दिनमा सहकारी क्षेत्रलाई विधि र प्रविधिको माध्यमबाट अघि बढाउन आवश्यक रहेको बताउँदै मन्त्री अर्यालले सहकारीलाई समावेशिताको आधारमा अघि बढाउन पनि आवश्यक रहेको चित्रण गर्नुभयो ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सहकारी भनेको नै सहकार्य भएको हुनाले यस क्षेत्रमा सहमति र सहकार्य गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँले संघिय सरकारले सहकारी एकिकरणको अवधारणा ल्याएको तर प्रदेश तथा स्थानिय सरकारले नयाँ नयाँ सहकारी दर्ता गरिरहेको बताउनुभयो । सहकारीका सञ्चालकहरूलाई पार्टिले राज्य सञ्चालनको जिम्मेवारी समेत दिनपर्ने धारणा सचेतक खाँडको रह्यो ।

मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सहकारी क्षेत्रमा थप आकर्षण बढाउन ३० वर्षमुनिका युवालाई महासङ्घको नेतृत्व चलाउने भूमिकामा अघि बढाउनुपर्ने सुझाव दिनुभयो । गौतमले भन्नुभयो, “सहकारी स्वनियममा सञ्चालन हुने हुँदा यसभित्र रहेका विकृति उन्मूलन, नवप्रविधिको प्रयोग, दक्ष जनशक्तिको आकर्षण, सम्पत्ति शुद्धीकरणसम्बन्धी कानून र निर्देशिका प्रभावकारी रहेका छन् भन्ने आभाष गराउन जरुरी रहेको छ ।” सहकारीमार्फत नेपालमा रहेका गरीब व्यक्तिको जीवनस्तर उकास्नुपर्ने गौतमको जोड थियो ।

साधारण सभामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशब बडालले आर्थिक बर्ष २०७५-०७६ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नभएको थियो । उहाँले सहकारी समाजिक व्यवसाय भएकाले यसको केन्द्रविन्दु सदस्य हुने बताउनुभयो । त्यसैगरी लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रममा मन्त्री अर्यालले सहकारीका लागि दिगो विकास लक्ष्य कार्यान्वयन मार्गदर्शनको सार्वजनीक गर्नुभएको थियो । महासंघका अध्यक्ष बडालले सहकारी अभियानको ब्याज सार्वजनिक गर्नुभएको थियो । कार्यक्रममा सांसद पशुपचि चौलागाई, सल्लाहकार गणेश शाह, राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेल, महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, पूर्व अध्यक्ष दीपक प्रकाश बाँस्कोटा, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव सूर्य प्रसाद गौतम, रजिष्ट्रार डा टोकराज पाण्डेलगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

आगामी चार बर्षे कार्यकालका लागि साधारण सभाले २२ सदस्यीय संचालक समिति र ३ सदस्य लेखा सुपरिवेक्षण समितिको चयन समेत गर्ने छ । निर्वाचन २५ पुसमा हुने कार्यक्रम रहेको निर्वाचन समितिका सदस्य तथा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले बताउनुभयो ।

त्यसैगरी राष्ट्रिय सहकारी महासंघको साधारणसभामा भाग लिन आउनुभएका पर्वत जिल्ला सहकारी संघका अध्यक्ष महेन्द्रजंग लामिछानेको गोंगबुबाट पुल्चोकस्थित राष्ट्रिय सहकारी महासंघको कार्यलय आउँदै गर्दै असामायीक निधन भएकोमा सभाले श्रद्धाञ्जली व्यक्त गरेको थियो ।