सरकारले निःशुल्क वितरण गर्दै आएको औषधि नै खान अयोग्य


हरेकपल January 10, 2020

काठमाडौं, २५ पुस । सरकारले निःशुल्क वितरण गर्दै आएका केही औषधि खान अयोग्य रहेको पाइएको छ । बढी प्रयोगमा आउने र जीवनभर सेवन गर्नुपर्ने प्रकारका औषधिहरू खान अयोग्य रहेको फेला परेको हो । नयाँ पत्रिकाले प्राप्त गरेको दस्ताबेजमा आठ प्रकारका निःशुल्क औषधिको ४१ ब्याच पटक–पटक फेल भएको उल्लेख छ । तर, यिनै औषधिहरू अहिले सरकारी स्वास्थ्य संस्थाहरूबाट नियमित रूपमा वितरण भइरहेका छन् ।

०७५र७६ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य संस्थाहरूबाट निःशुल्क वितरण हुँदै आएका विभिन्न औषधिको २८५ ब्याच परीक्षण गरेको थियो । तर, अनुसन्धान रिपोर्ट भने सार्वजनिक भएको छैन । अनुसन्धान परिषद्का अनुसन्धानकर्ता डा। मेघनाथ धिमालका अनुसार सरकारले परीक्षणमा अयोग्य देखिएका औषधि उत्पादक तथा वितरकलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि मात्रै अनुसन्धानको रिपोर्ट सार्वजनिक गर्ने बताए । उनले भने, ‘रिपोर्टमा गम्भीर विषय उल्लेख छन् ।

कारबाही प्रतिबद्धताविना रिपोर्ट सार्वजनिक गर्दा कमजोर हुन्छ । त्यसैले हामीले केही समय कुरेका हौँ ।’सरकारले हरेक वर्ष दुई अर्ब मूल्यबराबरको निःशुल्क औषधि खरिद गर्दै आएको छ । तर, ती औषधिको गुणस्तरमा ध्यान नदिँदा माटोसरह बनेका छन् । यस्ता औषधिले सर्वसाधारणको जीवनमा असर पारिरहेको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको फार्मेसी अधिकृत तथा निःशुल्क औषधि फोकल पर्सन भरतमणि मरहठ्ठाले गुणस्तर फेल भएका औषधि निःशुल्कका नाममा सर्वसाधारणले खाँदै आएकामा उनले आश्चर्य व्यक्त गरे । उनले भने, ‘सरकारले निःशुल्कका नाममा यस्तो गुणस्तरहीन औषधि खुवाउँदै आएको रहेछ ।

यस्ता औषधि सेवनले कति बिरामीको मृत्यु भइसकेको हुन सक्छ । कतिको महत्वपूर्ण अंगहरूमा असर गरेको होला । यसको हिसाबकिताब गर्नुपर्छ ।’ उनले यी औषधि कतिजनाले सेवन गरेका छन्, सरकारले खोज्नुपर्ने बताए । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले फेल भएका औषधि निकै गम्भीर प्रकृतिका भएको बताए । यस्ता औषधिले बिरामीमा कुनै सुधार हुँदैन । औषधिले काम नगरेकै कारण एउटै औषधि पटक–पटक सेवन गर्नुपर्ने उनको भनाइ छ । जसले शरीरका अन्य अंगमा समेत असर पुग्ने उनको भनाइ छ । यस्ता औषधि सेवन गर्ने बिरामीको मुटु, मिर्गौला, फोक्सोलगायतका अंगमा असर पुग्ने चिकित्सकहरू बताउँछन् । नयाँपत्रिका दैनिकमा खबर छ ।