राष्ट्रिय सभा उम्मेदवारको नामावली र चिन्ह आज दिइने


हरेकपल January 10, 2020

काठमाडौं, २५ पुस । माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदैछ।

विहान दश बजदेखि दिउँसो १ बजेसम्म उम्मेदबारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ। नामावली प्रकाशनसँगै आजै अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ।

उम्मेदबारी फिर्ताको समय बिहीबार भएपनि कसैले पनि नाम फिर्ता नलिएको आयोगले जानकारी दिएको छ। अठार सिटका लागि हुने निर्वाचनमा ४५ जनाको उम्मेदबारी परेको छ। नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यको पदावधि ६ वर्षको हुन्छ।

संविधान अनुसार प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुदैंछ। स्थायी सदनका रूपमा रहेको राष्ट्रिय सभामा ५९ सदस्य हुन्छन्।