एउटा प्रतीक्षाको अन्त्य


हरेकपल January 10, 2020

ऊ त्यहाँ ल्याइने प्रत्येक लाशको अनुहार हेर्छे । ल्याएर भुइँमा राख्न नपाउँदै दौडेर आउँछे र हेर्न थाल्छे । लाशको अनुहार छोपिउन्जेलसम्म अर्थात् प्रष्ट नदेखिएसम्म उसलाई चैन हुँदैन । अक्सर ऊ लाशहरू ल्याइँदा गम्भीर मुद्रामा देखिन्छे । छुनचाहिँ छुन्न तर व्यग्रतासाथ प्रतीक्षा गर्छे । उसको प्रतीक्षा केवल लाशको अनुहार हेर्नु र चिन्नुका लागि मात्र हुन्छ । एकपटक अनुहार देखिसकेपछि उसको मनोदशा नै फेरिन्छ । थाहा छैन, किन हो, ऊ शान्त हुन्छे । उसको अनुहारको भावले यस्तो बताउँछ, मानौँ ऊ कसैको प्रतीक्षामा छे ।

लाश हेरिसकेपछि ऊ सिधै ब्रह्मनालमा जान्छे । बागमतीको पानी उघाउँछे । उघाउने भाँडो फरक फरक हुन्छ प्रत्येक दिन । कहिले माथिल्लो भाग काटिएको पेयपदार्थको जम्बो बोतल, कहिले मुख काटिएका प्लास्टिकको ग्यालेन, कहिले प्लास्टिकको सानो मग आदि । पानी उघाएर ब्रह्मनाल पखालिसकेपछि ऊ त्यहीँ छेवैमा सुरक्षित तवरले उघाउने भाँडो राख्छे । ऊ यस दैनिकीसँग यसरी अभ्यस्त देखिन्छे– मानौँ, त्यो उसको जिम्मेवारी भित्रको कुरा हो, कर्तव्य हो, ड्युटी हो । जेसुकै होस्, ऊ आफ्नो नियमित काम छोड्दिन, गरिरहन्छे । न उसलाई कसैले यो काम अह्राएको देखिन्छ, न कसैले केही सोधेको । तैपनि आफ्नै सुरले ऊ यो काम निरन्तर गरिरहेकी हुन्छे । बिहानदेखि राति अबेरसम्म त्यहीँ हुन्छे । निद्रा लागे कतै सुत्दी हो तर उसको सुत्ने समय कुन हो र उठ्ने समय कुन हो भन्ने प्रायः मानिसहरूलाई थाहा छैन । सायद चासो पनि छैन । ऊ त्यहाँ बस्न थालेको कति दिन या कति महिना या कति वर्ष भयो, कसैले ठ्याक्कै भन्न सक्तैन । कसैलाई यो मतलबको कुरा पनि भएन ।

ऊ भुइँमा फालिएका प्लास्टिकका बोतल, प्लास्टिकका झोला, धुपका रित्ता प्याकेट, सलाईका डब्बा लगेर फोहोर फाल्ने ड्रममा हाल्छे तर कपडाहरूचैँ बलियो गरी दुई हातले छातीमा च्यापेर बिस्तारै जान्छे कतैतिर । एकछिनपछि फर्केर आउँछे, रित्तै । उसले लगाएका लुगा लाशलाई जलाउनुभन्दा अघि खोलेर फ्यालिएका लुगाहरू नै हुन् । तर साइज लगभग मिलेको हुन्छ । अचम्म, उसकै साइजका लुगा लगाउने कति महिलाहरू मर्दा रहेछन् दिनैजसो यहाँ ! तिनै लुगाले गर्दा उसको पहिरन सधैँ एकै किसिमको हुँदैन, फरक हुन्छ । उसले कहिले सारीचोलो लगाएकी हुन्छे । कहिले कुर्ता– सुरुवाल । कहिले जिन्सको पाइन्ट र टिसर्ट । लगाउने तरिका भने ल्याङफ्याङ हुन्छ, बौलाहीको जस्तै । कहिलेकाहीँ उसले पोते, माला, चुरा र बालाहरू पनि लगाएकी हुन्छे । अझ हाँसो उठ्दो त, कहिलेकाहीँ ऊ सानो हाते ऐना हेर्दै, कपाल कोर्दै विभिन्न भावभङ्गिमा देखाउँदै श्रृङ्गारमा जुटेकी हुन्छे ।

‘ए, भोले ! देवता त भित्र छ भित्र !’ प्रायः ऊ बिहान बिहान चिच्याउँछे । पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने प्रत्येक भक्तहरूले सुन्नुपर्ने हो उसको स्वर । त्यति चर्को छ । हुन त, उसको संवाद एकालाप हो । तर कहिलेकाहीँ ऊ दोहोरो संवादमै छे जस्तो लाग्छ । उसले जे बोलोस्, कसैले वास्ता गर्दैनन् । गर्नुपर्ने कारण पनि त छैन । मानिसको नजरमा ऊ पागल हो, मानसिक रूपमा विक्षिप्त । उसका धाराप्रवाह बोल्ने संवादमा ग्रामीण परिवेशको झझल्को आउँछ । सासू, ससुरा, स–साना नानीहरू, छिमेकीहरू, साथीसंगी र परिवारका अन्य सदस्यका प्रसङ्गहरू आउँछन् ।

– ‘आमाले भन्नुभयो, मैले गरेँ । बिस्कुन सुकाएको थियो, पानी परेर सबै भिजेछ । घाम चर्को लाग्यो बिहानदेखि, मैले सुकाइदिएँ गुन्द्रीभरी ।’ संवादसँगै उसको पर्फर्मेन्स एक्ट बडो जीवन्त हुन्छ, मानौँ ऊ रङ्गमञ्चमा अभिनय गरिरहेकी छे । ऊ त्यहाँ गुन्द्री, मकै सबैको भान दिन्छे । चर्को घाम त त्यसै लागिसकेको हुन्छ । यस्तो लाग्छ, विस्मृतिको कुनै खण्डमा पुगिसकेका घटनाहरूलाई चर्का घामको रापले पोलेर फेरि बाहिर ल्याइदिएको छ ।

–‘तिमीलाई घर छोडेर आउनु कसले भनेको थियो ? छोरी मान्छेको जात दुक्ख–सुख जे भए पनि गर्नू, सासूससुरालाई स्याहार्नू । बूढाबूढीको सेवा गरे न, आशीर्वाद पाइन्छ । घरका ठूलालाई मान्यौ भने लोग्ने त त्यसै ठेगानमा आइहाल्थ्यो नि । लोग्ने पनि आफ्नो भएन, सासू पनि भइनन्, ससुरा पनि रोगी, स्याहार्न दुःख । स्वास्नीमान्छे भएपछि अर्काको घर गरी खानुपर्छ ।’ अलिअलि प्रेम, अलिअलि चिन्ता, अलिअलि ईष्र्या, अलिअलि झिझ्याहट । लाग्छ, एउटी परम्परावादी महिला, अर्थात् भनौँ आदर्श बुहारी, जो आफ्नो घर बिगारेर आएकी नन्दलाई सम्झाइरहेकी छे । उसको संवादले त्यो झल्को दिन्छ ।

‘जय शम्भु ! हे भोले ! तिमी त भित्र छौ तर मान्छेहरू खोजिराख्छन् बाहिर–बाहिर ! मान्छेहरू मन्दिरमा फूल चढाउँछन्, दूध चढाउँछन् । सबै कुहिएर गन्हाएको छ ।’ नाक थुन्छे, ‘राम्रो चढाए नराम्रो हुन्छ, पैसा चढाए पुजारीले लान्छ । हामीलाई के ! भगवान्ले पाउने होइन । एउटा देख्तैनन्, बिहानदेखि आ’को छ, आ’को छ, आ’को छ । ठेलमठेल गरो, एउटाले अर्कोलाई कुल्चियो । अगाडि पुग्छु, भन्यो । अगाडि पुग्छु भन्दैमा पुगिन्छ ? देउता त भित्र छ !’ उसको संवादमा पशुपति मन्दिर भित्रको भीडभाडको प्रत्यक्ष वर्णन हुन्छ, तर ऊ घाटमा नै हुन्छे ।

अक्सर मानिसहरूले बोलेको कुराको प्रतिउत्तरमा ऊ केही भन्दिन तर त्यसकै प्रभावमा ऊ केही सम्झन्छे र बोल्छे जस्तो लाग्छ । त्यसैले त उसका भन्ने कुरा र बोल्ने विषयहरू फरक फरक हुन्छन् । तर आज उसले सधैँभन्दा अलि फरक व्यवहार देखाई ।

एका बिहानै, एउटा मान्छे मर्निङवाकमा आएको जस्तो देखिन्छ । पुलमाथि घरपालुवाजस्तो देखिने एउटा कुकुर उसको अघिपछि गरिरहेको छ । ऊ कुुकुरलाई जोडले बोलाउँछ, ‘टाइगर !’ त्यतिन्जेल मौन बसेकी उसले बोल्ने विषय पाउँछे र बोल्न थाल्छे, ‘कुकुर पालेर टाइगर भन्छन्, बाघ भालुदेखि डराउँछन् । राम भन्छन्, कृष्ण भन्छन्, विष्णु भन्छन्, महादेव भन्छन् देउतालाई, कुकुरलाई चैँ टाइगर भन्छन् । जय शम्भो ! भगवान त भित्र छन्, के खोजिराख्छन् यिनीहरू बाहिर–बाहिर ।’

उसले भनेको ‘भित्र’ पशुपति मन्दिरभित्र हो या अन्यत्र कतै, प्रष्ट बुझिँदैन । कहिले दुई हातलाई धारे पारेर मन्दिरतिर देखाउँछे, कहिले आफ्नै छातीमाथि दुबै हात खप्टेर राख्छे र भन्छे, ‘देउता त भित्र छ, भित्र ।’ गहिराइको बोध गरेझैं लाग्छ उसले ।

उसका संवादमा निरन्तर बग्छन् उसका विगतहरू बागमतीको पानीजस्तै । तर शब्दहरू बागमतीको पानीजस्तो प्रदूषित छैनन् । संवादमा घटनाहरू प्रायः दोहोरिँदैनन् । फेरि पनि ऊ किन पागल भई ? किन उसले मानसिक सन्तुलन गुमाई ? प्रश्न उठाउन सकिन्छ । आफ्ना जीवनका भोगाइहरू सुनाउँदैमा कोही पागल हुन्छ त ? तर सुनाएको कसलाई ? मानिसहरूलाई नै हुन सक्छ । तर उसले मानिसको उपस्थितिलाई अनुभूत गरेजस्तो पनि लाग्दैन । मानिसलाई नसुनाएको पनि भन्न सकिँदैन किनभने ऊ मानिसको उपस्थिति असाध्यै कम भएको बेला, जस्तो कि राति त्यति बोल्दिन । उसलाई बोल्नका लागि पनि अनुकूल वातावरण चाहिन्छ । तर त्यो कस्तो ? थाहा छैन । मानिसहरूको उपस्थिति र घाटको वातावरणले उसका संवादहरूलाई प्रभावित पारेको देखिन्छ । अझ भनौँ, ती कुराहरूसँग लयबद्ध हुन्छन् उसका संवाद ।

एकदिन भीडभाड थियो आर्यघाटमा । लाशहरू धेरै ल्याइएका थिए । त्यस्तो अस्वाभाविक पनि होइन, सामान्य दिनभन्दा केही बढी मात्र हो । ब्रह्मनालमा पालो पर्खिरहेका थिए दुई लाश । एउटा लाश ब्रह्मनालमा सुताइएको थियो । त्यसलाई हेरेर ऊ स्तब्ध भई । रोइन पनि, हाँसिन पनि । चुपचाप बसिरही । उसको आजको भूमिका अरू दिनको भन्दा फरक थियो । यति स्तब्ध, यति निशब्द, यति कर्तव्यविमुख ऊ पहिला कहिल्यै देखिएकी थिइन । यसरी विधुवाले झैँ कपाल फिँजारेर बसेको पनि देखिएको थिएन । ऊ चुपचाप ब्रह्मनाल पर्तिरको सिँढीमा (माथितिरबाट दुई खुड्किलो तल) बसिरहेकी थिई । उसले सधँैझैँ ब्रह्मनाल पखालेकी थिई कि थिइन, थाहा छैन ।

केही मानिसहरू उसको वरिपरि थिए । उनीहरू उसलाई केही सम्झाई बुझाई गरिरहेका थिए । ऊ भने मौन थिई, शून्यझैँ । अरू पनि केही बेर चुप लागे । केहीले त्यो लाशलाई चितातिर लैजान उठाए । ऊ पनि बिस्तारै उठी र अगाडि बढी । मन्द गतिमा हिँडिरही । लाश बिसाइयो चिता छेउमा । ऊ भने नरोकिईकन सरासर अगाडि बढीे राजराजेश्वरीतिर । वागमतीको किनारै किनार अघि बढी । अघिदेखि उसलाई सम्झाईबुझाई गरिरहेकी वृद्ध महिला रोदन मिश्रित स्वरमा चिच्याइन्, ‘ए, नजा न भन्या, आफ्नो लोग्नेको काजक्रिया त गर्नुपर्छ ।’ तर ऊ नरोकिई निरन्तर अगाडि बढिरही । त्यस यता ऊ फेरि कहिल्यै आर्घघाट वरिपरि देखिएकी छैन ।