नेकपा सचिवालय बैठक सम्पन्न, उपसभामुखकाे राजीनामा माग्ने निर्णय


हरेकपल January 11, 2020

काठमाडौं, २६ पुस । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामा माग्ने निर्णय गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार अपरान्ह बसेको बैठकले उक्त निर्णय गरेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार रिक्त सभामुख पदमा नेकपाबाट उम्मेदवारी दिनका लागि तुम्बाहाङफेको राजीनामा मागिएको हो । तर, सभामुख कसलाई बनाउने भन्नेबारे तय भएको छैन ।

‘उपसभामुख पदमा हाम्रो पार्टीबाट निर्वाचित शिवमाया तुम्बाहाङफेले राजीनामा दिने र नेकपाको तर्फबाट रिक्त सभामुख पदका लागि उम्मेदवारी दिने निर्णय भयो,’ प्रवक्ता श्रेष्ठले पत्रकारहरूसँग भने ।

पहिला उपसभामुखको राजीनामा आएपछि मात्र सभामुखबारे निर्णय हुने उनको भनाइ थियो । उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुखमा आफ्नो दाबी प्रस्तुत गर्दै आए पनि नेकपामा उनको भन्दा चर्चा अन्य नेताकै बढी छ ।

अध्यक्ष केपी ओलीले सुवास नेम्वाङ र पुष्पकमल दाहाअ प्रचण्डले अग्नि सापकोटालाई सभामुखका लागि अघि सारेका छन् ।

नेकपाकाे आन्तरिक राजनीतिका कारण सभामुख चयनकाे विषाय पेचिलाे बनेकाे छ । प्रतिनिधिसभा बैठक आइतबारका लागि डाकिएको छ ।