प्रदेश ३: स्थायी राजधानी र नामाकारणका लागि आज मतदान


हरेकपल January 12, 2020

हेटौँडा, २७ पुस । प्रदेश ३ को स्थायी राजधानी र प्रदेश नामाकरणका लागि आइतबार (आज) मतदान हुने भएको छ । प्रदेशको स्थायी राजधानी र प्रदेश राजधानीको नामाकरणका लागि शनिबार दर्ता भएको प्रस्तावमाथि मतदान हुने भएको हो ।

प्रदेश राजधानीका लागि दुई स्थान र प्रदेशको नामाकरणका लागि दर्ता भएको एक मात्र प्रस्तावमाथि शनिबार दिउसो बसेको प्रदेशको वैठकमा छलफल भएको थियो ।

प्रदेश सभाको वैठकमा स्थायी राजधानीका हेटौँडा कायम गरियोस् भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता एवं मुख्यमन्त्री डोरमणि पौडेल प्रस्ताव गर्नुभयो । प्रस्तावमा नेपाली काँग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका रीता माझी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का रीना गुरुङले समर्थन गर्नुभएको थियो ।

यस्तै विवेकशील नेपाली दलका रमेश पौड्याल प्रस्तावक तथा साझा पार्टीका शोभा शाक्य र विवेकशील नेपाली दलका विराजभक्त श्रेष्ठको समर्थनमा धुलिखेललाई स्थायी राजधानी कायम गरियोस भन्ने प्रस्ताव पेस गर्नु भयो ।
प्रदेश ३ को नामाकरण बागमती गरियोस् भन्ने काँग्रेस संसदीय दलका नेता बानियाँले प्रदेश सभाको वैठकमा पेस गर्नु भएको प्रस्तावमाथि नेकपाका मुख्य सचेतक रामेश्वर फुयाल, विवेकशील नेपाली दलका पौड्याल, साझा पार्टीका शाक्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका माझी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का गुरुङ समर्थक गर्नुभएको छ ।