काठमाडौंका नामी अस्पतालमा विदेशी पर्यटकमाथि लुट


हरेकपल January 12, 2020

काठमाडौं, २७ पुस । काठमाडौंका निजी अस्पतालले विदेशी पर्यटकलाई उपचारका नाममा चरम आर्थिक शोषण गरिरहेका छन् । पर्यटकको गुनासो बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन गरेको थियो । तर, अध्ययन टोलीले दिएको प्रतिवेदनमा सरकारले कुनै कारबाही गरेको छैन ।

काठमाडौंका ६ ठूला अस्पतालको सेवा अनुगमन गर्न २५ भदौ ०७६ मा समिति गठन गरेको थियो । मन्त्रालयको उपचारात्मक सेवा महाशाखाका निर्देशक डा। तारा पोखरेलको संयोजकत्वमा गठन भएको समितिमा उपसचिव सानुबाबु अधिकारी, कानुन उपसचिव पुष्करराज नेपाल, वीर अस्पतालका चिकित्सक सरोज शर्मा, नेपाल मेडिकल काउन्सिलका कालुसिंह खत्री र औषधि व्यवस्था विभागका प्रतिनिधि पनि थिए ।

बल्खुस्थित वयोधा अस्पतालले सन् २०१५ देखि ०१८ सम्म सात सय विदेशी पर्यटकलाई स्वास्थ्य सेवा दिएको थियो । तर, अध्ययन टोलीको प्रतिवेदनअनुसार सो अस्पतालमा एउटै बिरामीलाई १७ दिनमा विशेषज्ञ डाक्टरले एक सय नौपटक ‘राउन्ड सर्भिस’ दिएको बिल बनाइएको थियो । ‘तर, अस्पतालको आन्तरिक अभिलेखमा भने एकजना मात्र विशेषज्ञ डाक्टरले सेवा दिएको पाइएको छ,’ प्रतिवेदन भन्छ, ‘एउटै बिरामी एकै समयमा एसआइसियू, आइसियू, डिलक्स रुम र स्विट रुममा भर्ना भएको भनेर बिल चार्ज गरिएको छ ।’ अस्पतालको चार्जलिस्टमा डिलक्स रुमभन्दा सिसियू महँगो छ । तर, विदेशी पर्यटकसँग सिसियूभन्दा डिलक्स रुमको बढी पैसा उठाइएको छ ।

टोखाको ग्रान्डी अस्पतालले त रगतमा पनि पर्यटकबाट दुई हजार चार सय ५३ रुपैयाँ उठाएको छ । ‘नाफारहित रक्तसञ्चार सेवामा पनि पर्यटकबाट नाफा कमाएको भेटियो, त्यस्तै रेफर भएर आएका बिरामीलाई पहिलो अस्पतालले गरेको जाँच फेरि गर्न लगाइयो, बिरामीसँग लिइएको शुल्क तोकिएकोभन्दा बढी लिएको पाइयो,’ प्रतिवेदनले भनेको छ ।

त्यस्तै, थापाथलीस्थित नर्भिक अस्पतालले बिरामीबाट उठाउनुपर्ने भन्दा अन्यथा शीर्षक राखेर पैसा असुलेको छ । ‘कोअर्डिनेसन चार्ज’, ‘हस्पिटल सरचार्ज’जस्ता अनौठा शीर्षक राखेर पर्यटकबाट पैसा उठाइएको छ । ‘बिरामीबाट साढे ६ लाखसम्म उठाइएको शीर्षकको मूल्यसूची माग्दा अध्ययन टोलीलाई समेत अस्पतालले उपलब्ध गराउन सकेन,’ प्रतिवेदनमा भनिएको छ ।

पर्यटकको उद्धार गर्ने नाममा ठगी गर्दै आएको भनेर यसअघि नै बदनाम बत्तीसपुतलीस्थित स्वाकोन अस्पतालले कार्यालयमा राखेको र बिरामीलाई दिएको बिल फरक–फरक पाइएको छ । अस्पतालले कन्सल्ट्यान्ट डाक्टरबापत ६ हजार नौ सय र ड्युटीमा रहेका डाक्टरबापत चार हजार चार सय १६ रुपैयाँ चार्ज गरेको अभिलेख छ । ‘तर, बिरामीलाई आठ हजार ६ सय नौ रुपैयाँ चार्ज गरिएको छ, यो सरकारले तोकेभन्दा १० गुणा बढी हो,’ प्रतिवेदनमा उल्लेख छ । नयाँपत्रिका दैनिकमा खबर छ ।