कस्ता व्यक्तिलाई बुद्धिमान् भनिन्छ ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल January 13, 2020

कर्मण्यकर्म यः पश्येदकर्मणि च कर्म यः ।
स बुद्धिमान् मनुष्येषु स युक्तः कृत्स्नकर्मकृत् ।।
– श्रीमद्भगवद्गीता, ४।१८

जसले कर्ममा अर्कम र अकर्ममा कर्म देख्छ त्यो नै बुद्धिमान मनुष्य हो । ऊ नै वास्तवमा योगी हो ।

कर्मभित्रको अकर्म भनेको गरिएको कार्य अन्तर्गत गर्नु नहुने काम भन्ने बुझिन्छ । कुनै पनि कार्य गरियो तर उक्त कार्य नगर्दा पनि पनि कुनै असर पर्ने थिएन भन्ने कुराको ज्ञान गर्न सक्नु नै कर्मभित्रको अकर्म हो ।


जस्तै व्यापारीले सामान्य तरिकाले व्यापार गर्दा पनि हुन्छ । तर वस्तुको परल मूल्यभन्दा अधिक मूल्य लिई वेच्नु भनेको कर्मभित्रको अकर्म हो । जसलई छुट्याई सत् मार्गमा लाग्न सक्ने व्यक्ति नै कर्मयोगी हो भनिएको छ ।


यसैगरी बुद्धिमान् व्यक्तिले अकर्मभित्रको कर्म पनि जान्न सक्नुपर्दछ । जस्तै चोरले चोरी त गरिरहेको हुन्छ । तर उसलाई यो काम नराम्रो हो भन्ने पनि ज्ञान हुन्छ । अतः चोरी गर्नु हुँदैन भनी सत््मार्गमा आउने व्यक्तिले अकर्मभित्रको कर्म जान्दछन् । जसका निम्ति विवेकरूपी आँखा हुनु आवश्यक हुन्छ ।


हरेक कार्यको समालोचनात्मक दृष्टिले विचार गर्नुपर्दछ । समालोचनात्मक दृष्टि सर्वत्र राख्नु पर्छ भन्ने गीतको मर्म हो यो । राम्रो भित्रको नराम्रो अनि नरोम्रो भित्र राम्रो देख्न सक्नु नै कर्मयोगी हुनु हो । राम्राको प्रशंसामात्र अनि नराम्रा कार्यको आलोचना मात्र गर्ने होइन कि नराम्रो भित्रको राम्रो र राम्राभित्रको नराम्रो पक्षको पनि दृष्टि हुन सक्नुपर्दछ । यसरी कार्यको विवेकपूर्ण समालोचना गर्ने व्यक्ति नै बुद्धिमानी हुन् । जसलाई कर्मयोगी पनि भनिन्छ भन्ने गीताको नीति वचन मननीय छ – नारायणप्रसाद निरौला,ज्योतिषाचार्य, वास्तुविद् –