वीरेन्द्रनगर, २८ पुस । वीरेन्द्रनगर–११ स्थित अम्बिकादेवी सामुदायिक वन उपभोक्ता समूहले आफूखुसी रुख कटान गरेको छ। समूहले वीरेन्द्रनगरमा बन्न लागेको रिङरोडमा पर्ने उक्त क्षेत्रका करिब पचास भन्दा बढी रुखहरू कटान गरेको हो।
अम्बिकादेवी सामुदायिक वन उपभोक्ता समूहले सडक छेउका मसिना, थोत्रा र कुहिन लागेका काठ काटेको दाबी गरेको छ। तर ती काटिएका रुखका ठेली हेर्दा रुख मसिना र थोत्रा नभई राम्रा रुख भएका देखिएका छन्। त्यहाँका स्थानीयलाई ६० रूपैयाँमा पुर्जी काटेर रुख काटिएको स्थानीयले बताइ। लम्बाइ डेढ मिटर र गोलाइ एक मिटर गराएर उक्त दाउरा बिक्री गरिएको समूहका सचिव धर्मराज ढकालले बताए। करिब ढेड किलोमिटरसम्मका रुख फँडानी गरिएको छ।
रुख काट्दा डिभिजन वन कार्यालय सुर्खेतसँग अनुमति लिनुपर्छ तर कुनै अनुमतिन नलिई काटिएकाले तत्काल रुख काट्न रोक लगाइएको डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख गोविन्द दाहालले बताए। आइतबार डिभिजन वन कार्यालय सुर्खेतका सहायक वन अधिकृत प्रशान्त श्रेष्ठको नेतृत्वमा रुख काटिएको क्षेत्रमा अनुगमन समेत गरिएको छ।
‘अनुगमनमा गएको टोलीले दुईरचारवटा रुख काटिएको छ भनेको छ,’ डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख दाहालले भने, ‘अब त्यो विषयमा अध्ययन गर्छौं।’ अझ विस्तृतरूपमा अध्ययन हुने डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ। काटिएका रुखमा नम्बर पनि टासिएको र रुख काट्दा वातावरणीय स्वच्छता बिग्रने बताइएको छ।
‘रिङरोड आउँदा यहाँका काठ सबै खेर जान्छन्,’ अम्बिकेश्वरी सामुदायिक वन उपभोक्ता समूहकी सचिव अञ्जली शर्माले भनिन्, ‘त्यसैले सडकका लागि ठाउँ खुला गराउन अहिले नै साना तथा थोत्रा र मसिना रुख काटेका हौं।’ कटानीका लागि पाँच सय जनाले पुर्जी लिएको उनको भनाइ छ। पुस ११ गतेदेखि २६ गतेसम्म यहाँ रुख काटिएको थियो।
संस्थाका अनुसार त्यसबीचमा एक हप्ता रोकिएको थियो। यहाँ साल र मसलाका रुख काटिएको र केही थोत्रा रुख काट्दा राम्रा रुखको बुइ चढ्दा पनि केही राम्रा रुख काटिएको उक्त समूहका सल्लाहकार खट्क भट्टराईले जानकारी दिए। नियत भन्दा बाध्यताले एकरदुई नयाँ रुख काटिएको उनको भनाइ छ।
२०५२ सालमा स्थापना भएको उक्त सामुदायिक वन उपभोक्ता समूहमा ६ सय १० जना सदस्य छ। सो वन क्षेत्र एक सय ३९ हेक्टर क्षेत्रफलमा फैलिएको छ। नागरिक दैनिकमा खबर छ ।