काठमाडौं, २८ पुस । इंग्लिस प्रिमियर लिगमा म्यान्चेष्टर सिटीले एस्टन भिल्लालाई ६–१ ले हराएको छ । सिटीको जितमा सर्जियो अगुएरोले ह्याट्रिक गरे भने रियाद मेहरेजले दुई गोल गरे । अर्को एक गोल ग्याब्रियल जेससले गरेका थिए ।
एस्टन भिल्लाको मैदानमा भएको खेलमा ७१ प्रतिशत बल पोसेसन जमाएको सिटीले २२ वटा प्रहार गर्दा १२ वटा टार्गेटमा हानेको थियो । खेलको १८औं मिनेटमा रियाद मेहरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । उनले अगुएरोको पासमा गोल गरेका थिए ।
त्यसको ६ मिनेटपछि मेहरेजले ब्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई दुई गोलको अग्ता दिलाए । २८औं मिनेटमा अगुएरोले केभिन डि ब्रुयनको पासमा गोल गर्दै सिटीलाई ३–० को अग्रता दिलाए ।
पहिलो हाफको इन्ज्युरी समयमा जेससले गोल गर्दा सिटीले ४–० को अग्रता लियो । अगुएरोले ५७औं र ८१औं मिनेटमा गोल गर्दै प्रिमियर लिगमा १२औं ह्याट्रिक पूरा गरे ।
ह्याट्रिकसँगै अगुएरो प्रिमियर लिगमा सबैभन्दा धेरै गोल गर्ने विदेशी खेलाडी समेत बनेका छन् । उनले थिएरी हेनरीको १७६ गोलको कीर्तिमान तोडेका छन् ।
खेलको इन्ज्यूरी समयमा एस्टन भिल्लाका अनवर एल घाजीले पेनाल्टीमार्फत सान्त्वना गोल गरे । जितसँगै सिटीले प्रिमियर लिगमा ४७ अंक बनाएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको लिभरपुलको ६१ अंक छ । भिल्ला भने २१ अंक सहित १८औं स्थानमा छ ।
वाट्फोर्डले एएफसी बर्नमाउथलाई ३–० ले हराउँदै रेलिगेसन जोनबाट माथि उठेको छ । वाट्फोर्डले २२ खेलबाट २२ अंक बनाएको छ भने एएफसी बर्नमाउथ २० अंक सहित १९ औं स्थानमा छ ।