धन र मायाको सम्बन्ध कस्तो हुन्छ ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल January 14, 2020

यावद्वित्तोपार्जनसक्तः तावन्निजपरिवारो रक्तः ।
पश्चाज्जीवति जर्जरदेहे वार्तां कोऽपि न पृच्छति गेहे ।।
– हितोपदेश

जबसम्म व्यक्ति धन कमाउन सक्छ तवसम्म परिवारमा पनि उसले सबैको माया प्राप्त गर्दछ । परिवारजनले पनि उसप्रति राम्रो व्यवहार प्रदर्शन गर्छन् । जब धन कमाउन छोड्छ त्यसपछि परिवरका सदस्यले पनि उक्तव्यक्तिलाई चासो दिन छाड्छन् । मायामा पनि कमी आउने गर्दछ ।
मान्छे बलेकै आगो ताप्छन् । संसारी आगो नै धन हो । धन हुनेलाई परिवार लगायत अन्य व्यक्तिले पनि विशेष सोधपुछ एवं मान सम्मान गर्छन् । जब धन कमाउने बाटा बन्द हुँदै जान्छन् त्यसपछि परिवारले हेर्ने दृष्टिमा पनि परिवर्तन आउँछ भनिएको छ ।


धन हुने व्यक्तिलाई गर्ने व्यवहार सहयोगी र मायालु हुन्छ । अर्थात् धन कमाउनेले माया पनि धेरै प्राप्त गर्दछन् । यसैगरी कमाइमा गिरावट आएपछि मायामा पनि कटौती हुन थाल्छ । यसरी धन र मायामा पनि प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ ।


धन हुनेलाई गर्ने माया र नहुनेलाई गर्ने मायामा भिन्नता रहने गर्दछ भनिएको छ । यसैगरी आय अर्जन गरिरहँने व्यक्तिलाई गर्ने सामाजिक व्यवहार र आयस्थिति न्युनन हुने व्यक्तिलाई गर्ने व्यवहारमा भिन्नता रहने गर्दछ । यो परिवार एवं समाजको तीतो पक्ष हो । मान्छे धनकै पछि लाग्छन् र धनले नै मायामा पनि प्रभाव पार्ने गर्दछ । अतः जीवनमा मान सम्मानका साथ रहन पनि धनको आवश्यकता पर्दछ भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला,ज्योतिषाचार्य, वास्तुविद् –