आज मकरसंक्रान्ति, उत्तरायण आरम्भ महिमासहित हेर्नुहोस् आजको दिन २०७६ माघ १ गते


हरेकपल January 15, 2020


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल माघ महिनाको १ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत जनवरी महिनाको १५ तारिख, बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठानब्बे लाख पचासीहजार १२०) वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, तथा नेपाल संवत् ११४० अन्तर्गत परिधावी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत माघकृष्णपक्षको पञ्चमी तिथि दिवा ३।५१ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा, चन्द्रमा सिंह र बृहस्पति धनु राशिमा छन् । मघा नक्षत्र दिवा ११।१७ बजेसम्म रहनेछन् । यसैगरी आज शोभन योग, गर करण रहेका छन् । आज काठमाडौँमा सूर्योदय ६।५८ मा छ भने सूर्यास्त बेलुका ५।२९ बजे हुनेछ ।


आज मकरसंक्रान्ति हो । आजबाट सूर्य मकरराशिमा प्रवेश गरेका छन् । यसकासाथै आजबाट उत्तरायण र शिशिरऋतुको पनि प्रारम्भ भएको छ । संक्रान्तिलाई धर्मशास्त्रले विशेष पर्वका रूपमा व्याख्या गरेको छ । संक्रमण भएको विशेष समयलाई पुण्यकाल भनिन्छ । उक्त समयमा गरिएको दान पुण्यादि कर्मकोे अक्षय फल प्राप्त हुने कुरा धर्मशास्त्रमा उल्लेख छ ।


उत्तरायण हरेक कार्यका निम्ति शुभ मानिन्छ । खगोललाई (आकाशलाई) उत्तरी र दक्षिणी दुई भागमा विभक्त गरिएको छ । खगोलको उत्तरी भागमा देवताको निवास बताइएको छ भने दक्षिणी गोलमा दैत्यको निवास रहने गर्दछ । अर्थात् भनौ हाम्रो एक वर्ष बराबर देवताको एक दिनरात (अहोरात्र) हुने गर्दछ । सूर्य उत्तरायणमा हुँदा देवताको दिन र दक्षिणायनमा हुँदा रात हुन्छ । देवताको दिन भनेको हाम्रो उत्तरायणको समय हो । यस बेला गरिएका धार्मिक कर्मले देवता खुशी भई वरदान दिने कुरा पुराण एवं धर्मशास्त्रमा उल्लेख पाइन्छ । उत्तरायणमा गरिएका कार्यले देवता खुशी हुने भएकाले यो समयलाई उत्तम मानिएको हो ।


संक्रान्तिमा गंगास्नान गरे सय गुण शुभ फल मिल्छ । गंगा र यमुनाको संगममा स्नान गरे त्यसको पनि सय गुणा शुभ फल प्राप्त हुन्छ । अतः गंगामै पुग्न नसके पनि प्रयागको स्मरण गर्नाले पनि उत्तम फल प्राप्त हुने कुरा धर्मसिन्धुमा उल्लेख छ । यसरी स्नान गर्दा विशेष संकल्प पूर्वक गर्नु पर्दछ । यसरी गरिएको स्नानले दुःख दारिद्र्य हटेर जाने कुरा पनि शास्त्रमा उल्लेख पाइन्छ ।


आज दाउरा, कम्बल, वस्त्र, जुता, तेल, घिउ, त्रिपाल, सुन एवं अन्नदान गर्नाले महत् पुण्य प्राप्त हुने कुरा धर्मसिन्धुमा उल्लेख गरिएको छ । यसैगरी माघमा स्नान गर्नाले इच्छाएको फल प्राप्त हुने कुरा निर्णयसिन्धुमा पनि बताइएको छ । यसैगरी तिलको तिलक लगाउनुका साथै तिलका लड्डु, घ्यु, चाकु, तरुल आदि वस्तु खाने चलन पनि रहेको छ ।


तिथि, बार, नक्षत्र, योग र करण अनुसार सूर्य कसरी संक्रमण भएका छन् सोही अनुसारको शुभाशुभ फल प्राप्त हुने कुरा पनि मुहूत्र्त शास्त्रमा उल्लेख पाइन्छ । संक्रान्तिमा पञ्चाङ्गफल श्रवण गर्नाले गंगा स्नान गरेबराबरको फल प्राप्त हुने गर्दछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्