सत्य के हो ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल January 15, 2020

सत्यमेवेश्वरो लोके सत्ये धर्मः सदाश्रितः ।
सत्यमूलानि सर्वाणि सत्यान्नास्ति परं पदम् ।।
– वाल्मीकि

सत्य नै संसारमा ईश्वर हो । सत्यमा नै धर्म पनि आश्रित रहेको हुन्छ । संसारमा सत्य भन्दा ठूलो अरु केही छैन ।

महर्षि वाल्मीकिले सत्यमै ईश्वरको पनि वास हुने कुरा बताएका छन् । सत् नै ईश्वर हुन् । जहाँ सत्य छ त्यहाँ धर्म पनि रहन्छ र धर्ममै ईश्वरको पनि वास हुने गर्दछ । हामीमा पनि ईश्वरत्व अर्थात् सत् रहेको छ । तर यसको प्रयोमा भने हामी चुकिरहेका हुन्छौँ । नराम्रा एवं झुट कुरा बोल्नु हुँदैन भन्ने हामीलाई थाह छ । तर हामी वेला वेलामा असत्यको मार्ग पनि अबलम्बन गरिरहेको हुन्छौँ । जसले गर्दा क्षणिक स्वार्थ पूर्ति भए पनि दीर्घकालीन रूपमा त्यसको असर हामीले भोग गर्नुपर्दछ । किनकि असत्यको मार्गमा लाग्नु भनेको स्वधर्म विपरीत हो जसले हाम्रो कल्याण हुन सक्दैन ।

सत्यमै ईश्वरको बास हुने भएकाले बोली वचन र व्यवहारमा सत्य रहन सक्नुपर्दछ । जहाँ सत्यको निवास हुन्छ त्यही धर्मको निर्वाह पनि हुन्छ र मानव जीवन सुख शान्तिपूर्णक वित्ने गर्दछ । असत्य केवल दुःखको कारण हो । किनकि असत्यमा अर्धमका साथै ईश्वरको पनि वास हुँदैन । अतः सत्यवादी हुनु नै धार्मिक हुनु हो । धार्मिक हुनु नै परमात्माप्रतिका साक्षात्कार पनि हो । त्यसैले सत्यको मार्गमा लागि जीवनलाई धन्य गराउन हामी सबै लागिपर्नु पर्दछ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला,ज्योतिषाचार्य, वास्तुविद् –