चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीविरुद्ध अख्तियारमा उजुरी


हरेकपल January 14, 2020

काठमाडौं, २९ पुस । राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । झापास्थित बी एण्ड सी मेडिकल कलेजका संस्थापक दुर्गाप्रसाद प्रसाईंले उनीविरुद्ध उजुरी गरेका हुन् ।

अवैध रुपमा अकुत सम्पत्ति कमाएको आरोप लगाउँदै प्रसाईंले गिरीविरुद्ध अख्तियारसहित सम्पत्ति शुद्धीकरण आयोगमा उजुरी दिएका छन् । गिरीले भ्रष्टाचार तथा घुस लिने कार्य गरी अकुत सम्पत्ति आर्जन गरेको प्रसाईंको दाबी छ ।

गिरीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको शिक्षाध्यक्ष रहेको समयमा, स्वास्थ्य सेवा बिमा बोर्डमा कार्यकारी निर्देशक रहँदा र हाल आयोगको उपाध्यक्ष रहँदा घुस लिएको आरोप प्रसाईंले लगाएका छन् ।

एमबिबिएस कार्यक्रम सञ्चालनका लागि सम्बन्धनको सिफारिसका लागि निवेदन दिएकोमा गिरीले २० करोड रुपैयाँ घुस मागेको प्रसाईको दाबी छ । अथवा कम्पनीको १० प्रतिशत सेयर मागेको प्रसाईंको उजुरीमा उल्लेख छ ।