शान्ति कसरी प्राप्त हुन्छ ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल January 16, 2020

श्रद्धावान्ल्लभते ज्ञानं तत्परः संयतेन्द्रियः ।
ज्ञानं लब्ध्वा परां शान्तिमचिरेणाधिगच्छति ।।
–गीत, ३९

श्रद्धावान् व्यक्तिले इन्द्रिय संयमद्वारा ज्ञान प्राप्त गरेर परं शान्तिको पद प्राप्त गर्दछन् ।

शान्ति सबैको कामना हुन्छ । मनमा शान्ति सबैले चाहे पनि प्राप्त हुन भने सकिरहेको हुँदैन । शान्ति कसरी प्राप्त हुन्छ भन्ने बारेमा गीतामा भगवान् श्रीकृष्णले बताउनुभएको छ ।

मनमा शान्ति प्राप्तिका निम्ति सर्वप्रथमतः व्यक्तिमा श्रद्धाभाव चाहिन्छ । श्रद्धा भाव भनेको समर्पणको भाव हो । अहंकाररहित सात्विक गुणले युक्त हुनु हो । मनमा श्रद्धाको भाव जागृत गराउनसक्ने व्यक्तिले जीवनमा सुख र शान्तिका सुस्केरा हाल्न सक्छन् भनिएको छ ।
यसैगरी शान्तिप्राप्तिका निम्ति इन्द्रिय संयम हुनु पनि आवश्यक हुन्छ । इन्द्रियसंयम भनेको ज्ञानेन्द्रिय र कर्मेन्द्रियको सदुपयोग हो । पाँच ज्ञानेन्द्रियमा नाक, कान, आँखा, छाला र जिव्रो हुन् । यी ज्ञानेन्द्रियको पूर्तिका निम्ति हाम्रो मन र बुद्धि निरन्तर तिनै विषयभोगमा लागिरहेको हुन्छ । यसैगरी कर्मेनिद्रयमा हात, खुट्टा, मुख, गुदद्वार र मुत्रेन्द्रिय पर्दछन् । जो पनि विषय भोगमा नै लागिरहन्छन् । विषयारक्त नभई अर्थात् ज्ञानेन्द्रिय र कर्मेन्द्रियलाई सत्कार्यमा अग्रसर गराउनसक्नुपर्दछ भनिएको छ । यसरी श्रद्धावान् र इन्द्रियसंयम भएपछि एक असल ज्ञानको प्राप्ति हुन्छ । जसले जीवनमा शान्तिको सुन्दर बिहानी प्रदान गर्दछ भन्ने आजको नीति वचन मननीय छ ।