फ्लोरमा सौगात र सृष्टिको ‘माइकल अधिकारी’


हरेकपल January 16, 2020

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहने चलचित्र ‘माइकल अधिकारी’ को छायांकन सुरु भएको छ । माघे संक्रान्तिको अवसर पारेर बुधवार झापाको विर्तामोडबाट चलचित्रको छायांकन सुरु भएको हो । छायांकन सुरु गर्नुभन्दा अगाडि निर्माण टिमले चलचित्रको नाम अंकित केक काटेर सेलिव्रेसन गरेको थियो । रञ्जित रौनियारले चलचित्रको निर्देशन गर्नेछन् ।

सेरोगेसीको कथामा आधारित भएर निर्माण हुन लागेको चलचित्रमा सौगात र सृष्टिसँगै अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, बिद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा, बिट्रिनी कलाकार जमाइका टोम्ससहित झापाको चर्चित नाट्य समुह परिवर्तन थियटरका कलाकारको अभिनय रहनेछ । चलचित्रलाई आउँदो चैत २८ गते प्रदर्शन गर्ने तयारी निर्माण टिमको छ ।

छायांकन सुरु भएसँगै निर्माण टिमले सौगात र सृष्टिको लुक्स पनि सार्वजनिक गरेको छ । प्राप्त तस्विरमा रातो कुर्था सुरुवाल लगाएकी अभिनेत्री सृष्टिको सिउँदोमा सिन्दुर, हातमा चुरा र गलामा पोते देखिएको छ । त्यस्तै, सौगातले टाउकोमा नक्कली कपाल (विग) लगाएका छन् । दुईको लुक्स हेर्दा फिल्ममा उनीहरु श्रीमान्-श्रीमतीको भूमिकामा रहने अनुमान गर्न सकिन्छ ।

गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण हुने चलचित्रका प्रस्तुतकर्ता उद्धव पौडेल हुन् भने निर्माता निरक पौडेल हुन् । विर्तामोड र इलाममा खिचिने चलचित्रमा राजु बिक्रम थापाको छायांकन, निर्देशक रञ्जित रौनियारको कथा, शैलेश कंडेल क्षेत्रीको पटकथा तथा संवाद, शम्भुजित बाँस्कोटा निलेश सिंहको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।