अतिलोभ किन गर्नु हुँदैन ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल January 17, 2020

लोभमूलानि पापानि संकटानि तथैव च ।
लोभात्प्रवर्तते वैरं अतिलोभात्विनश्यति ।।
– हितोपदेश

पापको मूल भनेको लोभ हो । लोभले संकट निम्त्याउनुका साथै शत्रुता पनि बढाउने गर्दछ । त्यसैले अतिलोभ नगर्नू त्यो विनाशको कारण हो ।


लोभ भनेको एकप्रकारको आशक्ति नै हो । लोभ नहुने मान्छे पाउन सायद नै मुष्किल पर्ने गर्दछ । लोभ भए पनि यसको मात्रामा विशेष ख्याल राखी अतिलोभ गर्नुहुँदैन भनिएको छ ।
लोभ भनेको पापकर्मको मूल कारण हो । यसले मान्छेलाई नित्य पापकर्ममा नै रत गराउँछ । पापकर्मले संकट उत्पन्न हुन्छ र मानव जीवन गतिहीन बनाउछ । त्यसैले अतिलोभ नगर्नू भनिएको हो ।


यसैगरी अतिलोभकै कारण एक अर्कामा वैरभावको पनि सृजना हुने गर्दछ । एक अर्काको वैरभावले जीवनको सार्थकतामा पनि कमी ल्याउने गर्दछ । परिभाषाकारले कति लोभ गर्नुपर्छ भन्नेकुरामा पनि विशेष चिन्तन गरेका छन् । जुन लोभले सबैको कल्याण होस्, पापकर्म नहोस् र वैरभाव पनि उत्पन्न नहोस् । यस्तो लोभले मात्र जीवनलाई सार्थक तुल्याउँछ । अरुलाई कष्ट प्र्याएर, एक अर्कामा वैरभावको सृजना गरी अतिलोभवश गरिएका कार्य सर्वथा त्याज्य हुन्छन् । अतः अतिलोभ विनाशको मूल कारण हो भन्ने नीति वचन मननीय छ । —नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद्—