मान्छे हात लिने उपाय के हो ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल January 18, 2020


यस्य बुद्धिः परिभवेत् तमतीतेन सान्त्वयेत् ।
अनागतेन दुर्बुद्धिं प्रत्युत्पन्नेन पण्डितम् ।।
–महाभारत

बुद्धि कमजोर हुने व्यक्तिलाई उसको भूतकालको कुरा सुनाएर, बुद्धिहीनलाई भविष्यको आशा देखाएर शान्त गर्न सकिन्छ भने विद्वानलाई धन दिएर आफ्नो वशमा पार्न सकिन्छ ।
मान्छेलाई आफ्नो अनुकुल कसरी ढाल्न सकिन्छ भन्ने विषयमा महाभारतमा गम्भीर चिन्तन गरिएको छ । विशेषतः बुद्धिले कमजोर व्यक्तिलाई उसको विगतका राम्रा कुरा संझाएर रिझाउन सकिन्छ । राम्रा कुरामा जो कोही पनि मोहित हुन्छन् । जो बुद्धिपक्षमा कमजोर छन् यस्ता व्यक्तिलाई हातलिन उसका विगतका राम्रा कुराको प्रसंशा गर्नुपर्दछ भनिएको छ । जसले यस्ता व्यक्ति प्रसन्न हुन्छन् र आफ्नो कार्यमा लगाउन सकिन्छ ।


यसैगरी बुद्धिहीन व्यक्तिलाई भविष्यको सुन्दर कुरा दर्शाएर वशमा पार्न सकिन्छ भनिएको छ । बुद्धिपक्षमा कमजोर रहने व्यक्ति भविष्य बारे उत्सुक रहन्छन् । जसलाई भविष्यमा हुने सुन्दर कुराको बखान गरेर आफ्नो वशमा पार्न सकिन्छ । अर्थात् भनौ बुद्धितत्त्वलाई चलाउनै नसक्ने व्यक्तिले भविष्यका कुराप्रति चाँडै विश्वास गर्दछन् जसले गर्दा आफ्नो कार्य साधनाका निम्ति प्रयोगमा ल्याउना सकिन्छ भनिएको छ ।


यसैगरी जो बुद्धिपक्षमा पनि तगडा हुन्छन् यस्ता व्यक्तिलाई हातलिन धनको प्रयोग गर्नुपर्दछ भनिएको छ । ज्ञान भएका व्यक्तिमा पैसाको अभाव हुने गर्दछ । बुद्धिमान व्यक्तिलाई आफ्नो वशमा राख्न पैसाको प्रयोग गर्नुपर्दछ भनिएको छ ।


कम बुद्धि हुनेलाई विगतका राम्रा कुरा बताएर, बुद्धिहीनलाई सुन्दर भविष्यको व्याख्या गरेर र बुद्धिमान व्यक्तिलाई धनको प्रयोग गरेर बशमा राख्न वा हातलिन सकिन्छ भन्ने महाभारतको नीतिवचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–