विराटनगर बम काण्ड


हरेकपल January 17, 2020

पुस्तक : ओखलढुङ्गा सशस्त्र क्रान्ति : पृष्ठभूमि, कारण र परिणाम
विधा : इतिहास
लेखक : विनोद दाहाल
प्रकाशक : सगरमाथा वाङ्मय प्रतिष्ठान


(प्रस्तुत अंश ‘ओखलढुङ्गा सशस्त्र क्रान्ति : पृष्ठभूमि, कारण र परिणाम’ कृतिबाट साभार गरिएको हो । आठ खण्डमा विभाजित यस कृतिमा नेपाली काङ्ग्रेसको स्थापनाको पृष्ठभूमि, २००७ सालको सशस्त्र क्रान्तिदेखि लिएर ओखलढुङ्गाको सशस्त्र क्रान्तिका घटनाहरूलाई अनेक तथ्यका आधारमा प्रस्तुत गरिएको छ । यसमा क्रान्ति असफल हुनुका कारणदेखि परिणामसम्मलाई केलाउने काम गरिएको छ । थोरै शब्दमा तर धेरै सूक्ष्म बुझ्न चाहनेका लागि यो कृति निकै गुनिलो छ । यसको एउटा सानो छनक तलको अंशमा प्रस्तुत छ – )

विराटनगर बम काण्ड

नेपाली काङ्ग्रेसले सशस्त्र आन्दोलनका क्रममा विराटनगरमा बम बिस्फोट गरायो । राजा वीरेन्द्रको पूर्वाञ्चल भ्रमणका क्रममा त्यहाँ बम प्रहार गर्ने योजना बन्यो । यस कामका लागि गिरिजाप्रसाद कोइरालाको निर्देशन अनुरूप क्याप्टेन यज्ञबहादुर थापाले धनकुटाका भीमनारायण श्रेष्ठका साथ फारबिसगञ्जबाट बम पठाए । ती बम बिराटनगर बसिरहेका धनकुटाकै रामकृष्ण श्रेष्ठलाई उनले दिए । ती बम राजाको सवारीका समयमा विराटनगरमा प्रयोग गर्न भनिए अनुरूप २०३० साल चैत ३ गते रामकृष्ण श्रेष्ठले पञ्चर्यालीभित्र पसी बम फ्याँके तर त्यो बम त्यहीँ पड्कियो र रामकृष्ण घाइते भई केही घण्टाभित्र उनको निधन भयो । भीमनारायण श्रेष्ठ पनि घाइते भए र २०३५ सालमा उनलाई मृत्युदण्ड दिइयो । ( पुरुषोत्तम दाहाल तथा अन्य, पूर्ववत् – पृष्ठ : ३४)

यज्ञबहादुर थापा सेनामा जागिर खाएर धनकुटा बस्ने क्रममा त्यहाँ भीमनारायण श्रेष्ठसँग उनको चिनजान भएको थियो । यज्ञबहादुर नेपाली काङ्ग्रेसको सदस्य बनेर फारबिसगञ्ज बसेको बेला पनि भीमनारायण त्यहाँ जाने आउने गरिरहन्थे । २०२९ साल फागुनमा भीमनारायण भाइको विवाहको लागि सामान किन्न फारबिसगञ्ज गएका बेला यज्ञबहादुरलाई भेट्न गए । फर्कँदा यज्ञबहादुरले उनलाई एउटा पोको दिएर ‘यो सुरक्षित रूपमा लगेर विराटनगरमा रामकृष्ण श्रेष्ठलाई दिनू’ भने । भीमनारायणले त्यो पोको रामकृष्णलाई दिए । रामकृष्ण धनकुटाकै भीमनारायणका पूर्व चिनारु थिए । विराटनगरमा ल्याएर त्यो पोको रामकृष्णलाई दिएपछि मात्र भीमनारायणले त्यो ३६ नं.को हाते ग्रिनेड रहेछ भन्ने थाहा पाए ।

भीमनारायण एकदुई दिन आफ्नै काममा लागे र राजाको सवारी हुने दिन रामकृष्णलाई भेटी सँगै सवारी हेर्न गए । समीक्षालयबाट उनीहरू जुट केन्द्रतर्फ लागे । राजाको सवारी जुटकेन्द्रमा भइसकेको हुँदा अस्पतालको छोटो बाटो गरी जान लाग्दा बम त्यहीँ विष्फोट भयो । रामकृष्णको मृत्यु भयो र भीमनारायण घाइते भए । (राधाकृष्ण मैनाली, पूर्ववत् – पृष्ठ ः २६–२७) तीनदिनपछि घाइते अवस्थामै उनलाई पक्राउ गरियो । यस बम काण्डमा ३७ जना व्यक्ति घाइते भएका थिए र नगेन्द्रप्रसाद पराजुली नामका एकजना सर्वसाधारण पनि मारिएका थिए । राजा वीरेन्द्र बसेभन्दा ४०० मिटर टाढा भएको यस विस्फोटमा मारिने रामकृष्ण श्रेष्ठ विराटनगरस्थित जुट विकास समितिका कर्मचारी र नेपाली काङ्ग्रेसका प्रतिबद्ध कार्यकर्ता थिए । (डा. सूर्यमणि अधिकारी पूर्ववत् – पृष्ठ – १९४) उक्त घटनाबारे भारतबाट प्रकाशित तरुण पत्रिकाले २०३० साल चैत्र १५ गतेको अङ्कमा यसरी समाचार छापेको थियो :

भयानक विष्फोटले क्रूर शासक थरहरी
प्रतिक्रिया र दमनको झन्झाले विराटनगर ग्रस्त

विराटनगर । ३ चैत्र २०३० तदनुसार १६ मार्च १९७४ का दिन विहान करिब नौ बजेतिर एउटा अत्यन्त शक्तिशाली बमको विस्फोटले सम्पूर्ण सहर भुइँचालो गए सरह काँप्यो । राजा वीरेन्द्र त्यस समय विराटनगरको त्रिभुवन अस्पतालको निरीक्षण गरी कारद्वारा फर्किरहेका थिए । राजा वीरेन्द्रको कारभन्दा चार सय गज पर बम विस्फोट भएको थियो भन्ने रिपोर्ट छ ।

राजा वीरेन्द्रको यात्रा र आगमन समय सधैँ नै सुरक्षाको कडा बन्दोबस्त रहन्छ । सारा पहरा र सतर्कतालाई गिज्याउँदै राजा वीरेन्द्रको उपस्थितिमा बमको विस्फोट गर्न आँट गर्ने उक्त तरुणको साहस र कौशल राजनीतिक पर्यवेक्षकका निम्ति घोर विस्मयको विषय भएको छ । यो स्मरणीय छ, जनकपुरमा झण्डै दस वर्षअघि दुर्गानन्द झाले सोझै राजा महेन्द्रका उपर बम प्रहार गरेथे तर उक्त बम यस्तो शक्तिशाली थिएन ।

उक्त बम विस्फोटको दिनपछि पुलिस र सेनाको मनोमानीले गर्दा विराटनगर आतङ्कको नगर भएको छ । आजसम्म फगत सन्देहका भरमा प्रशासनले झण्डै डेढ सय व्यक्ति गिरफ्तार गरिसकेको छ तर बम प्रहारका बारे कुनै भरपर्दो सूत्र भेटिएजस्तो बुझिएको छैन । पुलिस र सेनाको अविवेकले विराटनगरका जनतामा झन् तीव्र रूपले क्षोभ र प्रतिहिंसा बढेको छ ।

तरुण पत्रिकाको सोही अङ्कमा विराटनगर बम काण्डको कारण र उद्देश्य के थियो ? यसको राजनीतिक औचित्य छ कि छैन ? भन्ने नेपाली काङ्ग्रेसका प्रदीप गिरीले निकै लामो र विश्लेषणात्मक लेख लेखेर त्यसको औचित्य पुष्टि गर्ने प्रयास गरेका थिए । (तरुण २०३० चैत्र १५)

यस सम्बन्धमा डा. गोविन्दमानसिंह कार्कीले फरक तथ्य प्रकाशमा ल्याएका छन् । (गोविन्दमानसिंह कार्की, नेपाली काङ्ग्रेसको सशस्त्र आन्दोलन, बुद्ध एकेडेमिक पब्लिसर्स, काठमाडौँ, पृष्ठ – १३६) उनले नेपाली काङ्ग्रेसका नेता उमेश गिरीको भनाइ उद्घृत गरेर भने अनुसार विराटनगर बम काण्ड पार्टीको योजनामा भएको होइन । यस अगाडि भारतको मधुवनीमा नेपाली काङ्ग्रेसका नेता सरोज कोइरालाको हत्या भयो । जनकपुर क्षेत्रमा नेपाली काङ्ग्रेसको सङ्गठन विस्तार गर्न सक्रिय कोइराला जनकपुर अञ्चलका अञ्चलाधीश लीलाराज विष्टको आँखाको तारो बनेका थिए । त्यसैले उनले कोइरालालाई मार्न झिँजाका खुङ्खार डाँकाहरूको प्रयोग गरे । जेलमा रहेका ६ जना डाकालाई जेलबाट भगाएर जग्गा दिने प्रलोभनसमेत दिई मधुवनीमा उनलाई मार्न पठाए । २०३० साल कात्तिक २ गते बेलुका ६ बजे सितामढी जान बस चढ्ने क्रममा आफ्ना साथीहरू रमेश झा, रुद्र ढुङ्गेल, नरबहादुर कार्कीहरूसँगै रहेका बेला उनी मारिए ।

सरोज कोइराला काङ्ग्रेसका कर्मठ नेता थिए । उनी काठमाडौँ केन्द्रीय कारागारमा रहेका बेला जापानमा रेड आर्मीले विमान अपहरण गरेको कुरा सुनाएपछि त्यही कारागारमा सँगै रहेका दुर्गा सुवेदी विमान अपहरणका लागि अग्रसर भएका थिए । विमान अपहरणका मास्टर माइन्ड सरोज कोइराला यसरी मारिएपछि उमेश गिरी सरकारसँग बदला लिने सोचमा पुगे र महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत एकजना सापकोटा थरका विद्यार्थीलाई राजा वीरेन्द्रको विराटनगर सवारीका बेला बम पड्काउन सहमत गराए । दीपक खनाल उपनामका ती विद्यार्थीलाई गिरीले फुल्का शिविरबाट बम दिएर पठाए र तिनले राजालाई लक्ष बनाउन नसकेर राजाका सवारी हेर्न आएका मानिसका भीडमा बम विष्फोट गराए । रामकृष्ण श्रेष्ठ, हरि पराजुली र नगेन्द्र पराजुलीको मृत्यु तथा ३७ जना घाइते भएको यस काण्डको मुख्य अभियुक्त घाइते भीमनारायण श्रेष्ठलाई मानियो । रामकृष्ण श्रेष्ठकी आमालाई आँखाको औषधी किन्न गएका बेला भीमनारायण र रामकृष्णका छेउमा बम विस्फोट भएको थियो । रामकृष्णको उपचारका क्रममा मृत्यु भयो र भीमनारायणलाई घाइते अवस्थामा तीन दिनपछि अस्पतालबाटै गिरफ्तार गरियो ।

उनलाई निर्मम यातना दिएर प्रहरीले साबिती बयान गरायो । यस बयानमा उनले आफू फारबिसगञ्ज गएका बेला क्याप्टेन यज्ञबहादुर थापाले रामकृष्ण श्रेष्ठलाई दिनू भनेर कागजले बेरेको एउटा पोको दिएको र आफूले त्यो के हो भन्ने थाहा नपाईकनै रामकृष्ण श्रेष्ठलाई दिएको, पछि रामकृष्ण श्रेष्ठले त्यो ३६ नं. को ह्याण्ड ग्रिनेड भएको बताएको उल्लेख गरेका थिए । राजालाई प्रहार गर्न जाने क्रममा त्यो रामकृष्णको गोजीबाट झरेर पड्किएको आसयको बयान उनले दिएका थिए । उनको यही बयानलाई आधार बनाएर विशेष अदालत, क्षेत्रीय अदालत र सर्वोच्च अदालतले समेत उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।