कविता
एथेन्सको राजमार्गमा दुईजना कविको भेट भयो । भेटेर दुवै खुसी भए ।
एउटा कविले अर्कोलाई सोधे, “नयाँ केही लेख्नुभएको छ कि ?”
अर्का कविले गर्वसाथ भने, “भर्खरै एउटा कविता लेखेको छु, जुन मेरा रचनाहरूमध्येकै राम्रो हो । मलाई लाग्छ, ग्रीकमा लेखिएका जति पनि कविता छन्, ती सबैभन्दा यो उत्कृष्ट हो । यो कविता मैले आफ्नै गुरुको स्तुतिमा लेखेको हुँ ।”
पाण्डुलिपि निकाल्दै उनले थपे, “ईः, यो मैसँग छ । सुनाउन पाउने भएँ । रमाइलो हुने भयो । जाऊँ, उः त्यो रूखको छायाँमा बसौँ ।” त्यहाँ कविले आफ्नो निकै नै लामो रचना पढेर सुनाए ।
अर्का कविले विनम्रतापूर्वक प्रतिक्रिया दिए, “यो महान रचना हो । कालजयी रचना । यसले तपाईँलाई ठूलो प्रसिद्धि दिलाउने छ ।”
पहिलो कविले सपाट स्वरमा सोधे, “तपाईँ अचेल के लेख्दै हुनुहुन्छ ?”
अर्का कविले उत्तर दिए, “धेरै थोरै लेखेको छु मैले त । एउटा बगैँचामा खेल्ने बच्चाको सम्झनामा आठ हरफ लेखेको छु ।” उनले पनि आफ्नो रचना सुनाए ।
पहिलो कविले भने, “ठीकै रहेछ, त्यस्तो नराम्रो पनि छैन ।”
आज दुई हजार वर्ष बित्दा पनि आठ हरफवाला कविता धेरै भाषामा प्रेमपूर्वक पढिँदै छ ।
तर मैँ हुँ भन्ने कविको रचना भने शताब्दीदेखि पुस्तकालयहरू र विद्वानहरूको दराजमा सुरक्षित त छन् तर तिनलाई पढ्ने पाठक भने छैनन् ।
सफा कागज
हिउँझैँ सेतो कागजले भन्यो, ‘यस्तै शुद्ध र सफा रूपमा मेरो जन्म भएको हो र म सधैँ यत्तिकै सफा हुन चाहन्छु । मसी होस् वा अरू कुनै रङको स्पर्शले म फोहर नबनूँ । त्यसो हुनुभन्दा बरु जलेर सेतो खरानीमा रूपान्तरित हुन मन पराउँछु ।
मसीदानी र कलमले कागजको कुरा सुने र मनमनै हाँसे । तर कहिले पनि कागजको नजिक जाने आँट गरेनन् । कागजको कुरा सुनेपछि रङ्गीन पेन्सिल पनि ऊ छेउ गएन ।
हिउँझैँ सेतो कागज सधैँ उस्तै बनिरह्यो … शुद्ध… सफा… अनि रिक्त ।
(अनुवाद : मनोजादित्य न्यौपाने)