‘जा नउवा । गाउँमा घर–घर भनेर आ कि जमिन्दारसाहेब बितिहाले ।’
जमिन्दारी रबाफले भन्यो, जमिन्दारको छोरा ढोलवाले ।
‘अच्छा !’
नाई त्यहाँबाट हिँड्यो अनि गाउँको एकछेउमा पुग्यो अनि त्यहीँबाट घरघरै भन्नथाल्यो– ‘भूरे जमिन्दार बिते । भूरे जमिन्दार बिते !!….’
नाईले आफ्नो नोकरीका कारण जिम्मेवारी पूरा गर्यो ।
भूरे जमिन्दारको मृत्युको खबर सुनेर कसैकसैले भने– ‘हरे !…’ यस्तो ‘हरे’ भन्नेहरूमा ज्यादा गरेर जमिन्दारको जुठो चाट्ने चट्टुबाजहरू थिए ।
उसकै मृत्युुको खबर सुनेर धेरैजसोले भने– ‘ठिकै भो ।…’
जमिन्दारबाट त्यहाँका धेरैजसो मानिसहरू शोषित पीडित थिए । उनीहरू सबैले भने– ‘मर्यो साला, ठिकै भो ।…’
आफ्नो आफन्तीमा त फोन गरेर भनिसकेको थियो ढोेलवाले, आफ्नो मोबाइलबाट आफ्नो बाउको मृत्युको खबर ।
समाजको एउटा परम्परा रहेछ– मुर्दा हेर्न जाने । त्यो मुर्दा पहिले चाहे मित्रु थियो या शत्रु ।
मरेपछि जमिन्दार भूरेलाई पनि हेर्न जानथाले मान्छेहरू ।
भूरेलाई वस्त्र ओढाएर खटियामाथि राखिएको थियो । वरिपरि आफन्तहरू रुनलाई बसेका थिए तर तिनीहरू रोइरहेका थिएनन्, देखावटी रुवाइ रोइरहेका थिए । त्यहीँ अन्य आफन्त र छिमेकीहरूको पनि भीड लागेको थियो, मुर्दा हेर्नेहरूको भीड । केही हेर्नेहरूले भन्दैथिए– ‘यति ठूला जमिन्दार ! यत्तिको सम्मत्ति बटुलेर के गर्ने ? आज रुने कोही भएन ।’
सुनेर ढोलवा उठिहाल्यो, निदाउँदै थियो । भन्यो– ‘ए नउवा !’
‘के हो ?’ नाईले भन्यो ।
‘जा, भाँटहरूलाई बोलाएर ल्या, रुनलाई । भनिदिएस्– ढोलेका बा भूरे जमिन्दार बितिहाले । रुनलाई हिँड सबैजना, छिटो हिँड ।’
‘जाँदैछु ।’
नाई तुरुन्तै भाँटहरूको गाउँतिर गयो । सबै भाँटहरू खाना खाने तयारीमा थिए ।
जाडोको महिनामा सबै भाँटहरू घरमै भेटिइहाले । सोधे– ‘कहाँ ठाकुर ? आज हामीहरूको द्वारमा सवारी हुनुभयो ।’ नाइले भन्यो– ‘तपाईँहरू मेरो द्वारमा सवारी हुनुहुन्न भने म पनि नआऊँ ! आइहालेँ । कामै यस्तै पर्यो । किन मुखमा लुकाई राखूँ ? बताइहालूँ– भूरे जमिन्दार बितिहालेछन् । रुनलाई हिँड्नुस् सबैजना, छिटो हिँड्नुस् ।’ भाँटहरूले भने – ‘ठाकुर, तपाईँ हिँड्दै गर्नुस् । हामी आउँदैछौँ ।’
‘अच्छा !’
नाई आफ्नो गाउँतिर, जमिन्दारको घरतिर हिँड्यो ।
यता भाँटहरूलाई भूरे जमिन्दारको मृत्युमा रुनलाई तयारी गर्दै थिए । त्यत्तिकैमा भाँटहरूकै समाजमा एउटी बूढी बितिहाली । जुन धेरै दिनदेखि बिरामी थिई । उसको उमेर पनि धेरै भइसकेको थियो ।
सबै भाँटभँटिनीहरू आफ्नी बूढीआमाको मृत्युमा अविरल आँसु चुहाउँदै रुन थाले, तब उनीहरू भूरे जमिन्दारको मृत्युमा रुन गएनन् ।
नाई, भूरे जमिन्दारको दरबारमा पुगेपछि ढोलवाले सोध्यो– ‘किन नउवा ? भाँटहरू किन आएनन् ?’
‘आउँदै छन् ।’ नाईले भन्यो । भाँटहरूले जे भनेका थिए, त्यही भनिदियो नाईले ।
दिउँसो भैसकेको थियो । भूरे जमिन्दारलाई मसानघाटमा लैजाने समय हुनलागेको थियो ।
ढोलवा रिसाइहाल्यो, बाघझैँ । भन्यो– ‘अरे नउवा ! कुरो के छ ? तँ त भन्दैथिइस् – भाँटहरू आउँदैछन् । अनि ?’
‘साँच्चै हो । भाँटहरूले भनेका थिए – तपाईँ हिँड्दै गर्नुस् । हामीहरू आउँदै छौँ ।’
नाईले विश्वास दिलाउने कोसिस गर्यो, ढोलवालाई ।
‘अनि किन आएनन् त ?’
ढोलवा गर्जन थाल्यो, गज्र्यो पनि । गाली पनि गर्यो ।
‘खै, किन आएनन् ? फेरि गएर हेरूँ ?’ नाईले भन्यो ।
‘तँ नजा । म जाँदैछु । अहिले आफैँ पत्ता लागिहाल्छ – तँ बोलाउन गइस् कि गइनस् ? या भाँटसालेहरू आफैँ आएनन् ?’
गाली गर्दैै ढोलवा, भाँटहरूको गाउँ भाँटन पूर्वतिर गयो । गएर उसले सोध्यो –‘ए, भाँटहरू ! किन ? तिमीहरूले अहिलेसम्म केही थाहा पाएनौ ?’
भाँटहरूले भने– ‘होइन, खबर पाएका थियौँ – तपाईँका पिताजी बित्नुभएछ भनेर ।’
‘अनि किन रुन आएनौ तिमीहरू ?’
‘के गर्ने ? आजै हाम्रो समाजमा एकजना बूढी आमाको मृत्यु भैहाल्यो । त्यसैमा लागेका हाँैँ, रुँदैछौँ । अनि त कसरी जाऔँ, तपाईँकहाँ रुन ?’
‘कि तिमीहरूलाई कसैले रोक्न आयो ?’
‘होइन, कसैले केही गरेको छैन हामीलाई । अब फेरि तपाईँको कोही मर्यो भने भन्नुहोला, हामी जसरी पनि आइहाल्छौँ ।’
‘किन, मेरो घरमा अरू कोही मर्ने ? यस्तो अशुभ कुरा गर्ने ?’ भाँटहरूलाई कोर्रै–कोर्राले पिट्दै ढोलवा आफ्नो दरबारतिर लाग्यो –‘सालेहरू मजदूरी पनि लिन्छन्, तैपनि यस्तो कृतघ्नता देखाउँछन् ।’
यो भनाइ सहन सकेनन् भाटहरूले । ‘ल हेर, हामीहरूको कृतघ्नता !’ पूरै भाटहरू मिलेर कोर्राको बदला कोर्रा नै बर्साउन थाले – ढोलवामाथि ।
उनीहरू कोर्रा बर्साउँदै आफ्नो निर्णय सुनाउँदै थिए – ‘अब यत्रो पनि जान्नौँ रुन, कसैकहाँ पनि । पेट पाल्नलाई यी दुईहात काफी छन् ।’
(अनुवादक : लेखक स्वयम् ।)
(नोट : नाई वा नउवा– तराईतिर कपाल काटेर जीवनयापन गर्ने एक जाति हो ।)
(साभार : मधुपर्क, २०६८ कार्तिक पूर्णाङ्क ५०९ ।)