कथासाहित्य र सृजनात्मक समीक्षाको नयाँ प्रतिमान


हरेकपल January 17, 2020

सिर्जना जीवनसित जोडिएको निरन्तर प्रक्रिया हो भने समीक्षा सिर्जनाको मूल्याङ्कन जुन साहित्यको उद्भव र विकास–प्रक्रियाबीच कुनै समय कुनै अन्तर्भूत आवश्यकताका कारण उब्जिएको हुनुपर्छ । सर्जकको मूल कर्म सृजन नै हो भने समीक्षाको मूल कर्म सिर्जनाको परिष्कार गर्ने, गति दिने, रचनाका अनेक सम्भावनाहरू खोज्ने र नवीन दिशा देखाउने हो । अतः सिर्जना र समीक्षा आफैँमा परस्परविरोधी विधा होइनन्, तर हाम्रो साहित्यजगतमा यसरी लिने गरेको विरलै पाइन्छ । सर्जकको दृष्टिबाट आफ्नो नाम र कृतिको प्रशंसा नचुहिएको समीक्षा अमान्य भावको सादृश्यमा तिरस्कार वा गालीगलौज व्यक्त गरिनु आजको नेपाली साहित्य–सन्दर्भ भएको छ । त्यस्तै, आफ्नो कृपादृष्टि प्राप्त नगरेसम्म कुनै पनि सिर्जना र सर्जकले स्वीकार्य वा महत्वपूर्ण ठानिँदैन भन्ने समीक्षकको उद्देश्य हुन थाल्नुलाई राम्रो त कसरी मान्न सकिएला र ! सर्जक र समीक्षकबीच यस्तो अस्वस्थ होडबाजी चल्नुले नेपाली कथाविधा मात्र होइन, पूरै साहित्यमा नराम्ररी क्षति पुग्ने निश्चित हुन्छ । यसैले यहाँ त्यो अन्योन्याश्रित सम्बन्ध मेटिँदै गइरहेको छ, जसमा एकअर्काप्रति औदार्य सहानुभूतिको भाव राखिन्छ र सिर्जनालाई सिर्जनाकै रूपमा मूल्याङ्कन गर्न सकिन्छ । अब त्यो बिस्तारैबिस्तारै एकाङ्गी सम्बन्ध बन्दै गएको छ । दुवैतर्फका समर्थक–मित्रहरूको लामो शृङ्खला बन्दै गइरहेको छ र एकअर्काप्रति सङ्घर्ष र प्रतिद्वन्द्विताको भावना उमारिँदै छ । यसको परिणाम के हुन थाल्यो भने समीक्षक आफ्नो अधिकार र सत्तामा क्रमशः स्वतन्त्र हुँदै गयो । रचनाको आस्वाद लिन उसले आफूलाई क्रमशः मुक्त मात्र होइन, बरु त्यस्ता प्रणालीहरूको विकास गर्दै आएको बुझ्न सकिन्छ जुन रचनाको गहनतलमा पुगेबिना नै समीक्षणकर्ममा उसको सहायक हुन सकोस् । सर्जकबाट आफ्नो निजी फाइदा उठाउने र प्रशंसामा लेखिदिनेजस्ता लेनदेन प्रवृत्तिका क्षुद्र स्वार्थले दिमाख भर्ने समीक्षकले रचनामा अन्तर्निहित स्वादअनुसार समीक्षा गरेको कसरी मान्न सकिन्छ र ! यस प्रकार समीक्षकको एकाङ्गी दृष्टिकोण विकसित हुँदै गएको पाइन्छ जुन संवेदनशील त हुन नसकेको छँदै छ, साथै वैज्ञानिक पनि बन्न नसकेको देखिन्छ । सर्जक आफ्नोतर्फ आफ्ना अनुभूतिहरूको आधारमा आफ्ना भावभूमि लेख्तै गर्ने, तर समीक्षकहरूले परम्परागत शास्त्रीय मापदण्डहरूबाट त्यसको स्वतन्त्र समीक्षा गर्ने प्रवृत्ति तुरुन्तै रोकिनुपर्छ । आधुनिक युगमा आधुनिक भावबोध र सञ्चेतनाबाट परिपूर्ण रचनासाहित्यलाई पुराना मापदण्डबाट मूल्याङ्कन गरिनु निरर्थक प्रयास मात्र न हो । नेपाली कथासाहित्यलाई जब सोचेजस्तो समर्थन र प्रेरणा प्राप्त भएन, तब चालीसको दशकपछि केही कथाकार आफूहरूबीचबाटै समीक्षक बनाइए÷बन्न पुगे, जो कथाकारविशेषको समर्थक बन्न पुग्दा बाँकी अन्य कथासाहित्यलाई इतरका रूपमा राख्न पुगे । अतः यहाँ पनि अन्ततः कथासाहित्यको एकाङ्गी र पूर्वाग्रही मूल्याङ्कन हुँदै गरेको देख्न सकिन्छ । यस्तो परिस्थितिमा समीक्षा–वृत्तमा यसको आफ्नो स्वतन्त्र सत्ताविरुद्ध एउटा नयाँ चुनौतिका रूपमा लिइनुपथ्र्यो, तर नेपाली साहित्यजगतमा इमान्दारीपूर्वक समीक्षकीय कर्म निर्वाह गर्दै अघि बढेका समीक्षक कति नै छन् र ! स्पष्ट भन्ने हो भने निष्ठापूर्ण सर्जक र समीक्षकका बीच सम्प्रेषण कम भएको आजको अवस्था छ । वास्तवमा कथासाहित्यलाई समाजसापेक्ष साहित्य हो र सामाजिक सन्दर्भहरूमा लेख्ने गरिन्छ, जसको निष्पक्ष र निरपेक्ष मूल्याङ्कन स्वयम् साहित्यले पनि गर्न सक्तैन । अतः समाजको वैज्ञानिक अध्ययन गर्ने अन्य अनुशासनहरूद्वारा त्यसको निरपेक्ष मूल्याङ्कन हुन आवश्यक छ ।

साठीको दशकको अन्त्यतिर नेपाली कथासाहित्यमा दृष्टिपात गर्दा सबै कथाकारहरूले अब आफूलाई सबै प्रकारका आन्दोलन र नाराबाजीहरूबाट मुक्त गरेको देखिन्छ । जे भन्न चाहिरहेको हो, त्यो रचनामा भन्नेजस्ता तिनको आग्रह देखिन्छ । वर्तमान समयमा कथाकारहरू आफ्नो कुरा राख्न क्लिष्ट भाषामा अल्झिरहँदैनन्, यदि तिनले आफ्नो रचनामा कुनै अप्रत्यक्षको सहायता लिन्छन् भने पनि त्यो केवल आफ्नो कुरा अधिक निरपेक्ष र ग्राह्य बनाउनलाई नै देखिन्छ । तिनका लागि प्रतिबद्धताको प्रसङ्ग पनि अधिक मात्रामा स्पष्ट भइसकेको छ । प्रतिबद्धताकै कारण रचनात्मकताप्रति गहिराइका साथ आफूभित्र अनुभूत गर्न सकिने भएकाले यो एक आन्तरिक आवश्यकता हो भन्ने धेरैजसो कथाकारले बुझिसकेका छन् । अब यस्तो प्रतिबद्धता बाह्य, प्रदर्शनीय वा नाटकीय प्रतिबद्धता कदापि होइन ।

प्रामाणिकताका विषयमा पनि कथाकारहरूको मनमा कुनै द्वन्द्व छैन । तिनको अनुभवजगत र अनुभूति सामथ्र्य नै तिनको रचनालाई प्रामाणिकता प्रदान गर्दछन् । आफ्ना सामाजिक सन्दर्भहरू र परिवेशलाई पनि ती पहिचान गर्दछन् । आफ्नो समयप्रति पूर्ण सचेत छन् र त्यसैबाट ती आफ्नो आधुनिक भावबोधलाई जोड्दछन् । यस्तोमा बाहिरबाट कसैले कुनै ग्ल्यामरस विचारबाट जोड्ने गर्दछ भने त्यस्ता कथाकारको स्तर पत्ता लगाउन सबै जान्दछन् । यसकारण तिनको सञ्चेतना आधुनिक हुन्छ र आफूमाथि सही अर्थमा कुनै आरोपित प्रभाव राख्तैनन् ।

समकालीन नेपाली कथासाहित्यको व्यापक सन्दर्भ उदात्त, दृष्टिकोणबाट निरपेक्ष मूल्याङ्कन होस्, जसले सिर्जनामा उब्जेका सत्यता, खुबीहरूद्वारा कथाको अन्तर्दृष्टि र विचारधारालाई पनि सम्झाउने प्रयास हुनुपर्ने आजको आवश्यकता हो । सर्जकको व्यक्तित्व सिर्जनासित अवश्याम्भावी रूपसँग जोडिएको हुन्छ र उसको रचनात्मक व्यक्तित्व नबुझी रचनाको सम्यक् मूल्याङ्कन सम्भव छैन । प्रत्येक समर्थवान् रचना आफ्नो रचनात्मक समृद्धिका बीच अनेकन् सम्भावनाहरू समेटिरहन्छ, जसलाई सूक्ष्म मूल्याङ्कनद्वारा अन्वेषित गर्न सकिन्छ ।

समकालीन नेपाली कथासाहित्य निरन्तर नयाँ दिशा ग्रहण गर्दै हिँडिरहेको छ । तसर्थ यसबारे तीस, चालीस, पचास वर्षमा गरिएका मूल्याङ्कनले समुचित न्याय गरेको मान्न सकिँदैन, किनभने पछिका कुनै पनि समीक्षक ती दशक वा समयविशेषको समयबोधबाट काटिएको लाग्न पुग्छ । गतिशील वा ‘डाइनामिक’ साहित्यको आफ्नो समयका साथसाथ मूल्याङ्कन हुँदै जानु आवश्यक छ । यसर्थ आजका समीक्षकहरूलाई अब आफ्नो दृष्टिकोणलाई परिष्कृत–परिमार्जित गर्ने आवश्यकता अनुभूत हुनुपर्छ । यिनको भूमिका रचनालाई आफ्नो कसीमा राखेर भुट्ने मात्र रहेन र रचनाप्रति निषेधात्मक ‘दृष्टिकोण’ राख्तै त्यसका कमीकमजोरीहरूलाई खोजेर निकाल्नु मात्र पनि होइन । अब त समीक्षामा पनि सिर्जनात्मकताको विकास हुन आवश्यक भइसकेको छ, जसले सिर्जनालाई त्यसकै सम्पूर्णतामा व्यापक सन्दर्भहरूमा, त्यससित जोडिएका सम्पूर्ण पक्षहरूमा, त्यसमा निहित सबै सूक्ष्म सत्यताहरू, विशिष्टताहरू र प्रसूत सम्भावनाहरूका साथ पूरै संवेदनशीलताका साथ विश्लेषित गर्न सकियोस् । फलतः सर्जक र पाठकबीच अधिकतम संवादको स्थितिको समझदारी उत्पन्न हुन सकोस् । विश्लेषणको यस प्रक्रियामा समीक्षकको दृष्टिकोण पूर्ण रूपमा सकारात्मक बनिरहोस्, निषेधात्मक होइन ।

आफूलाई सब प्रकारका पूर्वाग्रहहरूबाट मुक्त गरेर आफ्नो समकालीन रचनात्मक साहित्यको यथार्थपरक मूल्याङ्कन व्यापक सामाजिक सन्दर्भहरूमा गरिनु आजको सृजनात्मक समयका लागि त्यति नै आवश्यक हुन आएको छ, जति रचनामा निहित सम्पूर्ण सूक्ष्म प्रश्नहरू, सम्भावनाहरूलाई विश्लेषित गर्न र त्यसलाई सर्जकको अन्तर्दृष्टिको सन्दर्भमा प्रस्तुत गर्न सक्नु आवश्यक छ ।

आजको आधुनिकता सापेक्ष समाज प्रायशः वैयक्तिक विचारधाराको आधिपत्य चल्ने समाज हुँदै गइरहेको छ । प्राविधिकीकरणको प्रक्रियाले वैयक्तिक कार्यचेष्टा (ष्लमष्खष्मगब िभलतभचउचष्कभ) लाई उत्पन्न गर्दछ र यो अधिक क्षमताबाट उत्पादन गर्ने प्रेरणा र शक्ति दिन्छ । यसलाई वैयक्तिक चेष्टा, वैयक्तिक रुचि, वैयक्तिक श्रम, साधना र एकलक्ष्यताद्वारा नै प्राप्त गर्ने गरिन्छ । अन्वेषण र अनुसन्धानमा वास्तविक प्रविधिको प्रगति निर्भर हुन्छ । वैज्ञानिक आफ्नो प्रतिभा, श्रम, साधनाद्वारा नयाँनयाँ आविष्कार गर्दछ, तर प्रयोगशालामा तिनै प्राप्ति सामूहिक रूपमा अनुसन्धान सायदै हुन्छ । यसर्थ प्राविधिक समाज र प्रविधिउन्मुख समाजको धेरैजसो चिन्तन वैयक्तिक चिन्तन हुन्छ र यस प्रकार वैयक्तिक मूल्यहरूलाई प्रत्यक्ष प्रोत्साहन प्राप्त हुन्छ ।

मूल्य आफैँ निर्मित हुँदैन । मानसिक क्रियाकलापहरू, विचारधारा तथा चिन्तन दिशाहरूमा मूल्य निर्भर हुन्छ । सामान्य मूल्य वा तात्कालिक जीवनमूल्य जीवनको लक्षण र लक्ष्यसित केन्द्रित भएर निर्माण हुने गर्दछ । यसैले समाजका सामूहिक कार्यकलाप आफ्नो स्थान र महत्त्व गुमाउँदै जाने बित्तिकै प्राविधिक जागृतिको परिणामस्वरूप वैयक्तिक क्रियाकलाप, लक्ष्य र प्रतिमान महत्त्वपूर्ण ठहरिन थाल्यो, नेपाली समाजको मूल्यजगत्मा उद्वेगात्मक स्थिति उत्पन्न भएको कुरालाई पछिल्लो समयमा लेखिएका कथाहरूले अभिव्यक्त गर्दै छन् ।

पारम्परिक जीवनमूल्यहरूमा नैतिकता, इमानदारपूर्ण निष्ठा, समता, निष्पक्षता, उच्चविचार, साधारण रहनसहन आदिको अपेक्षा गरिन्थे । त्यतिखेर मानवता, त्याग, बलिदान, राष्ट्रियताको भावना उच्च मूल्य आदर्श मानिन्थे, जसका नै आधारमा नेपालमा राजनीतिक स्वतन्त्रताको सङ्घर्ष पनि भयो । जुन मूल्यहरू र मूल्यआदर्शका लागि यस प्रकारको द्वन्द्व भयो, स्वतन्त्रता प्राप्तिपछि तिनको मूर्त रूप देख्न पाइने सहज अपेक्षा सर्वसाधारणको मनमा थियो, राजनीतिक स्वतन्त्रता प्राप्तिपछिका दिनहरूमा तत्कालै त्यस प्रकारको आशामाथि कुठाराघात पनि भयो । प्रबुद्ध वर्ग मात्र होइन, सामान्य वर्गलाई समेत के स्पष्ट भइसकेको छ भने ती मूल्य आदर्शहरूको जति उत्प्रेरक र समर्थ वर्ग थिए, जसलाई सामाजिक, राजनीतिक नेतृत्वको अधिकार प्राप्त भयो र जो स्वतन्त्रता कुण्ठित भएका दिनहरूमा ठूलठूला मूल्य–आदर्शहरूको झण्डा बोकी हिँड्ने गर्थे, त्यही वर्गले यी मूल्यहरूको सबभन्दा बढी हनन गरेका छन् । यसरी भनाइ र गराइमा भएको भिन्नताले जुन अविश्वास, दूरीका खाडल देखा परेको थियो, त्यो फैलँदै जाने क्रम अद्यापि जारी छ । यसै बिन्दुमा समकालीन कथाको स्वर दरिलो रूपमा ध्वनित भएको भेट्न सकिन्छ ।

यस प्रकारको निर्मम सत्योद्घाटनका साथ चिन्तकहरू, विचारकहरु, लेखकहरू आदिले के पनि अनुभव गरे भने सम्भवतः मूल्य–आदर्श जसमा जरो गाडिएको थियो, त्यो आफैँमा खोक्रो थियो, त्यसको निर्वाह गर्न सक्ने क्षमता बदलिँदो युग र नवीन मान्यताहरू प्राप्त परिवेशमा त्यति रहेन । आफ्नो समयका प्रश्नहरू र तिनका जटिलताहरूसित जुझ्ने शक्ति प्रदान गर्नमा यी मूल्य–आदर्शहरू असमर्थ पाइन थाल्यो । जसरी यो सत्य स्पष्ट हुन लाग्यो, मूल्यहरूप्रति तीव्र रूपमा मोहभङ्ग समाजका प्रायः प्रत्येक वर्गले अनुभूत गरे र मोहभङ्गको यो प्रक्रिया क्रमशः समाजमा सर्वत्र विस्तार हुँदै गएको पाइयो ।

देशमा हुन थालेको स्वतन्त्रताको पुनप्राप्ति र पूर्ण रूपेण स्वतन्त्रताको प्राप्ति जस्ता क्रम देख्तै रहेका २०४६ सालवरपर देखा परेका युवा कथाकारहरूमा उपर्युक्त मोहभङ्गको स्थितिले उद्वेग, असन्तोष र आक्रोश गहिर्याउन थाल्यो । सामाजिक–नैतिक मूल्यहरूमा आस्था डगमगाउन लाग्नु, निष्ठा र विश्वासको स्थान अरुचि, अनास्था र गहिरो संशयको भाव समाजका चेतनामा उब्जिन थाल्नु र नेपाली समाजमा एक किसिमको उद्वेगात्मक स्थिति देखिनु यसैको नतिजा थियो । यो वर्ग त्यो वर्ग थियो जो स्वातन्त्रयोत्तर नेपालमा नयाँ संस्कार लिएर पैदा भएकोे थियो । यस संस्कारले तिनलाई आधुनिकतातर्फ उन्मुख गरिरहेको थियो र विशुद्ध वैज्ञानिक दृष्टिकोण लिएर वस्तुलाई पारख गर्न प्रेरणा दिइरहेको थियो । अर्कातिर यो वर्ग परम्पराबाट पूर्ण रूपमा छिनिइसकेको थिएन । धर्ममा आस्था राखेर पनि वा नराखेर पनि यो वर्ग सामाजिक कुण्ठाहरू र धर्मप्रसूत ‘भीरुभाव’बाट मुक्त हुँदै थियो । विज्ञानले तिनमा आफ्नो बुद्धि, आफ्नो नवीन चेतना र कार्यक्षमताका बारेमा गहिरो आत्मविश्वास भरिदिएको थियो । तिनलाई परम्परामा आफ्नो प्रतिभाको विकास गर्ने कुनै आधार देखा पर्न सकेको थिएन, बरु त्यहाँ किसिमकिसिमका बन्धनहरू देखा पर्न थाले, जसले तिनका मनमा केवल अन्तर्विरोध र अन्तद्र्वन्द्व उत्पन्न गर्न सक्थे । यसरी युवापुस्ता खुला रूपमा के सोच्न थाल्यो भने यी मूल्यहरूका कारण तिनको सहज मानसिक विकास अवरुद्ध हुने गर्दछ । बिस्तारैबिस्तारै परम्परा व्यवस्थाप्रति तिनको मनमा गहिरो विरोध र विद्रोहको भाव भरिन थाल्यो । फलतः समकालीन लेखनमा त्यसै प्रतिक्रिया देखिन थालेको हो ।

त्यही साहित्यमा नै मूल्यहरूप्रति गहिरा असन्तोष द्वन्द्व अथवा विद्रोहको भावबोध सूक्ष्म रूपमा पाइन्छ, जसले कहिल्यै आफूलाई कुनै गुट वा नक्कली आन्दोलनमा जोडेनन् र यथाशक्ति आधुनिक भावबोधलाई अपनाएर पनि मूल रूपले समसामयिक सन्दर्भमा यथार्थपरक दृष्टि बनाइरहे । यस्ता रचनाहरूमा मूल्यहरूलाई लिएर एक किसिमको अन्द्र्वन्द्व र अनिश्चयको पनि सम्प्रेषण भएको पाइन्छ । कतैकतै मूल्यहरूको तीव्र विरोध देखिन्छ कतैकतै उदासीनता ।

युवावर्गको कथालेखनमा अनुभूति र भावबोधको धरातलमा आफ्ना समयको व्यापक सत्य र त्यसका पछिपछि मूल कारणहरूले सही सन्दर्भमा सम्झने प्रयत्न देख्न सकिन्छ । अधिकांश रचनामा आफ्ना समयको उद्वेग, असन्तोष, आक्रोश र विरोध व्यक्त भएका छन्, तर त्यसको पछाडि अन्तर्निहित मूल्यहरूप्रति अनास्था र परम्पराबाट कटाइलाई आफ्नो रचनामा सूक्ष्म अनुभूतिको स्तरमा रचनाकारले कमै सम्झन सकेका छन् । यसैले स्थितिहरू ती रचनाहरूमा बाहिरबाट आरोपित लाग्छन्, परिवेशबाट उब्जेको होइन । अधिकांश रचनाहरूले आफ्नो आक्रोश विरोधको रूपमा र विद्रोहको रूपसम्म मात्र सीमित गरे । यस्ता असन्तोष, आक्रोश र उद्वेग आफ्नो मूलमा मूल्यहरूको सार्थकतामा प्रश्नचिन्ह बनेर उत्पन्न भएका थिए । यो पक्ष धेरै कम रचनाकारले मात्र सम्झन सके । अहिले पनि अधिकांश नेपाली कथा यसै सामाजिक उद्वेग र उत्रिँदै गरेको आक्रोशका बीचमा लेखिएको भेटिन्छ ।

समकालीन नेपाली नगरीय परिवेशमा विशिष्ट रूपबाट मूल्यहरूका निरन्तर क्रान्तिको स्थिति बनिरहनुको कारण र मूल्यहरू क्रमशः काटिँदै जाने अनुपातमा ‘अमूल्यता’ र ‘शून्यताबोध’को अवस्था देखा परेको छ । एकातिर पारम्पारिक मूल्यहरूबाट उब्जित छटपटी, अस्वीकृति, क्रान्तिको भावना, अर्कातिर आधुनिक भनिएका विचारधारा स्वरहरू जसले समकालीन जीवनमा निकै उपयोगी रूपमा काम गर्न असफल भइरहेका छन्, तिनबाट हटेर वा पर गएर पनि सोच्नुपर्ने स्थिति आइपुगेको कथाकारहरूको अनुभूति व्यञ्जित हुन थालिरहेका छन् । सर्जकहरू यी सबैबाट एकदमै अलग्ग स्थितिको आशा वा कल्पना गर्न थालिरहेको पनि पाउन सकिन्छ अर्थात् समकालीन कथासर्जकहरू उपयुक्त दुवै प्रकारका मूल्यहरूमा भित्रभित्रै एक प्रकारको अमूल्यता र मूल्यहीनताको पनि बोध गर्दै छन् । यस समयमा लेखिएका अनेक रचनाहरूमा मूल्यहीनता वा अमूल्यताको भाव प्रतिबिम्बित भएका छन् । यिनै रचनाहरूमा व्यञ्जित नवीन स्थिति, तिनको भूमिका, तिनको सङ्केत, मूल्यगत परिवर्तन जस्ता अनेकन् पक्षमाथि गहन अध्ययन गर्ने समीक्षाजगततर्फ आजका सिर्जनाको माग हो ।