फूलजस्तै कविताको कथा


हरेकपल January 17, 2020

कृति परिचय

ललितपुर जिल्लाको प्राकृतिक एवम् रमणीयस्थल गोदावरीमा वि.सं. २०२६ सालमा माता सरलादेवी र पिता पं. जगन्नाथको कान्छा छोराको रूपमा जन्मनु भएको ऋषभदेव घिमिरे सामाजिक, साहित्यिक तथा सांस्कृतिक गतिविधिमा समर्पित हुँदै २०४२ सालदेखि विभिन्न साहित्यिक संस्थामा आबद्ध हुनुहुन्छ । उहाँले आफू जन्मिएकै ठाउँ गोदावरीमा लाग्ने प्रसिद्ध बाह्रवर्षे मेलाको धार्मिक तथा सांस्कृतिक परिचयात्मक विषयमा गोदावरी शिर्षकको पुस्तक २०६० सालमा प्रकाशन गर्नुभएको थियो । पहिलो पुस्तक प्रकाशन गरेको सोह्रवर्षपछि २०७६ सालमा उहाँको यो दोस्रो कृति कविताको कथा (कवितासङ्ग्रह) प्रकाशित भएको छ । यस कवितासङ्ग्रहमा कवि ऋषभदेव घिमिरेका जम्मा ५८ वटा नविनतम् कविताहरू समावेश गरिएका छन् । जसमध्ये राष्ट्रप्रेम र भानुमा नै समर्पण शिर्षकका दुई वटा कविता मात्र पद्य शैलीमा र बाँकी अन्य कविताहरू गद्य शैलीमा रचिएका छन् । साथै ती कविताहरू मध्ये ११ वटा कविता केवल चारहरफमा मात्र लेखिका छन् जसलाई कविले नै लघुतम कविता भन्नुभएको छ । बाँकी अन्य ४७ वटा कविताहरू गद्य शैलीमा रचिए पनि कुनैकुनै कवितामा पद्यात्मकताको छनक पनि पाइन्छ ।

यस कवितासङ्ग्रहको पहिलो कविता राष्ट्रप्रेम शिर्षकमा रचिएको छ । यस कवितामा आफ्नो राष्ट्रप्रतिको भक्तिभाव र प्रेमभावलाई सरल शैलीमा अभिव्यक्त गरिएको छ । कवि घिमिरेले यस कवितासङ्ग्रहमा समावेश गरिएका कविताहरूमा विशेषगरी राष्ट्रप्रेम, प्रकृतिप्रेम, मानवप्रेम, जातिप्रेम, युगबोध र जीवनदर्शन आदि विषयलाई समेटेर आफ्नो अनुभव र अनुभूतिलाई समेत कवितामार्फत अभिव्यक्त गर्नुभएको छ । उहाँका कवितालाई पाठकले अथ्र्याइरहनु आवश्यक पर्दैन । अर्थात् उहाँको कविताको भाषा र शैली अत्यन्त सरल छ । बोधगम्य र सम्प्रेषणीय छ । उहाँले आफ्नो मनको भावना र विचारलाई सरल शैलीद्वारा नै स्पष्ट अभिव्यक्त गर्नुभएको छ ।

कविले सामाजिक परिवेशभित्र जीवनका अनेकौँ पाटाहरूलाई खोतलेको हुन्छ, नियालेको हुन्छ र अनुभूत गरेको हुन्छ । जीवन र जगतका अनेक पक्षहरूसँग आत्मसात र साक्षात्कार गर्दै कविको आफुभित्रको अन्तरचेतनाले त्यसलाई नियाल्दछ, परख गर्दछ र अनि मात्र तिनैलाई मुख्य विषयवस्तु बनाएर कविताको स्वरूप दिन्छ । अर्को अर्थमा भन्नुपर्दा कविले समाज सापेक्ष वा युग सापेक्ष चिन्तनको गहिराइमा डुबुल्की मारेर जीवन र जगतको जटिलतालाई केलाउँदै त्यसबाट प्राप्त अनुभव र अनुभूतिलाई सशक्त ढङ्गबाट कवितामा अभिव्यक्त गर्दछ । त्यो नै कविको विशिष्ट साहित्यिक प्रतिभा हुनजान्छ । कालचेतना नै कविताको प्रमुख विषय हुने भएकोले कविमा विशिष्ट प्रतिभा नभैकन उसको काव्यिक रचनामा निखार आउँदैन ।

हाम्रोे समाज धेरै वर्गमा विभाजित भएको छ । धर्म, भाषा, भेष, संस्कृति, संस्कार, रीतिरिवाज, परम्परा र जीवनपद्धति आदिले मानिसको जात–जाति र वर्गलाई विभाजन गरेको छ । कवि स्वयम् पनि त्यही विभाजित समाजको एक सदस्य हो । उसले समाजलाई नजिकबाट नियालिरहेको हुन्छ । समाजलाई अनुभूत गरिरहेको हुन्छ । वास्तवमा कवि संवेदनशील हुन्छ र यही संवेदनशील व्यक्तिचेतनाको कारणले उसको अनुभूति नै लेखकीय विशिष्ट अभिव्यक्ति बन्छ । कविले आफ्नो अनुभूतिलाई नै साहित्यका विविध विधा कथा, उपन्यास, कविता, नाटक, गीत आदिको रूपमा पाठक समक्ष प्रस्तुत गर्दछ ।

कविको विचारहरूको शृङ्खला नै कविता हो । कविले आफू बाँचेको समय, आफूले भोगेको समाज र देशमा घटेका विविध घटनाबाट सृजित अनुभव र अनुभूतिलाई अभिव्यक्त गर्ने साहित्यको एउटा माध्यम कविता पनि हो । र त्यही कवितालाई कविले आफ्नो लेखन शैलीद्वारा प्रस्तुत गरेको हुन्छ । त्यो नै कविताको विशेषता पनि हो । देशको राजनीतिक, सामाजिक र आर्थिक गतिविधि एवम् परिवेशहरू परिवर्तन भैरहेको हुन्छन् । कविले यी विषयलाई पनि नजिकबाट नियालिरहेको हुन्छ । त्यसैले वर्तमान अवस्थामा भोग्नु परेका राजनीतिक, सामाजिक र आर्थिक प्रसङ्गहरूलाई पनि कविले कविताको विषय चयन गर्दछ । आधुनिक कवितामा धेरैजसो कविले कवितामा धेरै नै बिम्ब र प्रतीकको प्रयोग गरेका हुन्छन् भने केही कविहरू बिम्ब र प्रतीकलाई भन्दा पनि विचारलाई सरल शैलीमा लेख्ने गर्दछन् । यसको अर्थ यो होइन कि विम्ब र प्रतीकबिना कविता हुँदैन वा बन्दैन भन्ने । मुख्यकुरो कविले आफ्ना विचारलाई प्रस्तुत गर्ने शैली महत्त्वपूर्ण हुन्छ । जटिल विम्ब र प्रतीकयुक्त कविताभन्दा सरल शैलीमा लेखिएको कवितामा बोधगम्यता र सम्प्रेषणीयता ज्यादा हुन्छ ।

कवि ऋषभदेवका कविताहरूमा कमभन्दा कम विम्ब र प्रतीक प्रयोग भएकै कारणले उहाँका कविताहरू सरल छन् । उहाँका कविताहरूमा सामाजिक परिवेश, समाजमा सथापित हुँदै आएको सामाजिक संस्कार र पौराणिक मान्यता, परम्परा अनि आख्यानहरूलाई समेत अभिव्यक्त गरिएको छ । उहाँले उर्मि (उर्मी) जस्तो काल्पनिक नारी पात्र र प्रशिद्ध चलचित्र क्याराभानका सजिव पात्र थिन्लेलाई समेत आफ्नो कवितामा सम्बोधन गर्नु भएको छ । यद्यपि थिन्ले अहिले यस संसारमा छैनन् तापनि डोल्पाको दुनै भनेपछि क्याराभान चलचित्रका नायक उनै थिन्लेको सम्झना आइरहन्छ युगयुगसम्म । विश्वमा डोल्पा र थिन्ले एक अर्काको पर्याय बनेका छन् ।

कवितामा सहज, सरल र सम्प्रेषणीयता हुनुपर्दछ । यी तीनवटा कारणले नै कविताले पाठकको मनमा प्रभाव पार्दछ । कवि ऋषभदेवका कविताहरूमा यी तीनवटै विशेषता पाइन्छ । किनभने अधीक विम्ब र प्रतीक भएका कविताहरू साधारण पाठकको निम्ति फलामको च्यूराजस्तै हुन्छन् । अबको समयमा पाठकलाई कविताको अर्थ खोजेर घोत्लिरहने फुर्सद छैन । त्यस्तो घोत्ल्याइँबाट पाठकलाई टाढा राखिदिएका छन् कवि घिमिरेले ।

जीवनमा मानिसले धेरै कुरा अरूबाट सिक्नु पर्दछ । गुरूबाट शिक्षा र ज्ञान सिकिन्छ भने साथीहरूबाट आदत सिकिन्छ । त्यसैले हाम्रो समाजमा एउटा भनाइ छ – सङ्गतगुणाको फल । हामीले जीवनमा प्रकृतिबाट पनि धेरै कुराहरू सिक्छौँ । फूलबाट फूललजस्तै सुन्दर र कोमल हुन, जूनबाट जूनजस्तै शीतल र प्रिय हुन, नदीबाट नदीजस्तै गतिशील र जुझारु बन्न, घामबाट घामजस्तै निष्पक्ष र दानी हुन र समयबाट समयजस्तै चलायमान र समयबद्ध हुन आदि आदि कुराहरू सिक्न सक्छौँ । यी कुराहरू मानव जीवनको निम्ति अत्यन्त महत्त्वपूर्ण एवम् सार्थक छन् । कवि ऋषभदेव घिमिरेले समय–संवेदना शिर्षकको कवितामा प्रकृतिबाट हामीले केके कुराहरू सिक्नुपर्दछ भन्ने भावलाई सरल शैलीमा अभिव्यक्त गर्नुभएको छ । यो त एउटा उदाहरण मात्र हो । यी र यस्तै धेरै कविताहरू छन्, जसले पाठकको मनमा गहिरो प्रभाव पार्दछ ।
म यौटा अग्निको झिल्को
म आफै बल्छु दन्दनी
अन्याय भोग्न चाहन्नँ
मूकदर्शकझैं बनी । (राष्ट्रप्रेम, पृष्ठ ३२)

कवि घिमिरेले लघुतम कविता भन्नु भएका चारहरफमा लेख्नुभएको एघार वटा कविताहरू छन्, जुन कविता सानो भैकन पनि लामो कविताले व्यक्त गर्ने भावजस्तै आफैमा पूर्ण छन् । उदाहरणको लागि दुईवटा कविता प्रस्तुत गर्दछु –

कर्कलाको पातमा अडेको पानी
डाँडामाथिको जून
प्रकृतिको उपहार
क्षणभङ्गुर जीवन । (जीवन, पृष्ठ : १४९)

चराले छोडेर रित्तिएको गुँड
डाँडापछाडि डुबेको घाम
एउटा स्वाभाविक प्रक्रिया
अवश्यम्भावी सुनिश्चितता । (मृत्यु, पृष्ठ : १५०) ।

कवि ऋषभदेव घिमिरेका कविता कस्ता रहेछन् भन्ने बारेमा माथि उदाहरणस्वरूप प्रस्तुत गरिएका कविता नै पर्याप्त छन् । संक्षेपमा भन्नुपर्दा उहाँका कविताहरू गोदावरीकै प्रसिद्ध Botanical Garden मा फुल्ने गोदावरी, सयपत्री र मखमली फूलजस्तै सुन्दर, कोमल र मनमोहक छन् ।

अन्त्यमा यो सुन्दर कवितासङ्ग्रहका लागि उहाँलाई मेरो हार्दिक बधाई ।