नुन चाहिए भीरतिर


हरेकपल January 19, 2020

काठमाडौं, ५ माघ । भीरको तल्लो ढिस्को कडा छ । माथिल्लो भागबाट पानी झरिरहन्छ । प्राकृतिक नुन खुवाउन चौंरी गोठाला भीरमै पुग्छन् । ‘तेम्बाथानका गाउँले नुन चाहिए त्यहीँ खोतलेर ल्याउँछन्,’ स्थानीय साइँला शेर्पा भन्छन्, ‘भीरमा पक्कै यो नुनकै खानी हुनुपर्छ ।’ नुनको स्वाद पाइएकाले सेताम्मे रङको भीरलाई नुनिलो भीर भनेर चिनिने गरिएको उनले सुनाए ।

धेरै वर्षअघि जापानी विशेषज्ञको एउटा टोलीले उक्त भीरको सेतो पदार्थ के हो भन्नेबारे खोजी गर्ने प्रयास गरेको थियो । टोली हेलिकप्टरबाट दुई पटकसम्म त्यहाँ आएको थियो । तत्कालीन सरकारले उत्खननको अनुमति नदिएको गाउँलेले सुने । ‘त्यो टोलीले खोजी गर्दा के पत्तो लगायो भन्ने हामीलाई थाहै भएन । त्यसपछि फेरि यो भीरबारे खोजीनिती भएन,’ उनी भन्छन्, ‘यहाँका मान्छेले आएर पुज्ने थलोमै सीमित बन्यो ।’

जुगल हिमालको काख दीपु, तेगादेखि तेम्बाथान र गुम्बाथानका गाउँहरूमा यहाँको नुन चाखे पवित्र हुने जनविश्वास छ । त्यसैले गाउँले समूहसमूहमा बेलाबखत नुनिलो डाँडामा आउने गरेका छन् । पाल्देन माम् अर्थात् जुगल हिमालको छिम्दाङमा बस्ने महाकालीको शक्तिले यहाँ यस्तो पर्वत बनेको तेम्बाथानवासी मान्छन् । १७ वटा चौंरी गाई लिएर धेरैपटक नुनिलो भीर क्षेत्रको घना जंगल पुग्ने गरेका दीपुगाउँका ५५ वर्षीय धर्के शेर्पा यसलाई चमत्कारी नुनको पर्वत भएको दाबी गर्छन् । ‘यो भीरको स्वरूप हेर्दै पाल्देन माम् महाकालीजस्तै अचम्मको देखिन्छ,’ उनी भन्छन् ।नुन खाएपछि फुर्ती नै छुट्टै आउँछ । त्यहाँको नुन ल्याएर मिसाएर खान्छु, चौंरीलाई पनि पानीमा मिसाएर दिन्छु,’ उनी भन्छन् ।

नुनिलो भीरसम्म सडक जोडिएको छैन । यसबारे जनप्रतिनिधिले पहलकदमी नलिएको स्थानीयको गुनासो छ । ‘दिनहुँ चौंरीगोठाला त्यहाँ पुगेर नुन चाख्छन् र नुनिलो धूलो प्रसाद भन्दै घरघर लान्छन् । यो एउटा मन्दिरजस्तै बन्ने सम्भावना देख्दै छु,’ ६५ वर्षीया फुर्पालामु शेर्पाले भनिन् । राजधानीबाटै दिनभरमा पुगिने तेम्बाथान गाउँबाट एक घण्टाको जंगल छिचोलेलगत्तै पुगिने नुनिलो भीर चढ्न सहज छ । बाख्रा र चौंरीगोठाला ब्रह्मायणी नदी किनार हुँदै भीरमा पुगेर दोसल्ला र पातीले पूजा गर्छन् । यसबारे सुनेपछि अचम्म मान्दै जुगल गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले यसबारे खोजी गर्ने प्रतिबद्धता जनाइन् । ‘त्यहाँको पूर्वाधार निर्माणसँगै नुनिलो भीरको अनुसन्धान कसरी हुन सक्छ, त्यो गर्छौं,’ उनले भनिन् । जुगलको हिमशृंखलाको काखैमा भएकाले उक्त भीरले जडीबुटी र खनिज पदार्थको सम्भावना बोकेको उनले बताइन् । कान्तिपुर दैनिकमा खबर छ ।