मध्यभोटेकोसीको १ अर्ब ५० करोड सेयर निष्कासन


हरेकपल January 19, 2020

काठमाडौं, ५ माघ । १०२ मेगावाटको मध्यभोटेकासी जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि छुट्याएको १ अर्ब ५० करोड रुपैयाँबराबरको १ करोड ५० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको सहायक चिलिमे जलविद्युत् कम्पनीको पनि सहायक मध्यभोटेकोसी कम्पनीले स्थानीयवासी र सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको हो । स्वपुँजी (इक्वेटी) तर्फको स्थानीयवासीका लागि ६० करोड तथा सर्वसाधारणका लागि ९० करोड रुपैयाँबराबरको सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, सर्वसाधारणलाई दिइने १५ प्रतिशत अर्थात ९० लाख कित्ता तथा स्थानीयबासीलाई दिइने १० प्रतिशत अर्थात ६० लाख कित्ता सेयर निष्कासन गर्न लागिएको हो । सेयर निष्कासनका लागि कम्पनीले नागरिक लगानी कोषसँग ‘सेयर प्रत्याभूतिसम्बन्धी सम्झौता’ गरेको कम्पनीमा प्रमुख कार्यकारी अधिकृत मणिकुमार काफ्लेले जानकारी दिए ।
कम्पनीले यसअघि पहिलो चरणमा कर्मचारी संचयकोषमा रकम संचित गर्ने संचयकर्ताका लागि १९।५ प्रतिशत अर्थात १ करोड १७ लाख कित्ता, संस्थापक कम्पनीका कर्मचारीका लागि ३।५ प्रतिशत अर्थात २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि १ प्रतिशत अर्थात ६ लाख कित्ता गरी कुल १ करोड ४४ लाख कित्ता अर्थात १ अर्ब ४४ करोड बराबरको सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ । कारोबार दैनिकमा खबर छ ।