आफूले सिर्जना वा उत्पादन नगरेका ५० हजार गीतको कपिराइट म्युजिक नेपालद्वारा कब्जा


हरेकपल January 19, 2020

काठमाडौं, ५ माघ । सन् १९७० अर्थात् ०२७ तिर प्रेमध्वज प्रधान मुम्बईमा थिए । चर्चित संगीतकार मनोहर सिंहसँग संगत थियो । मनोहरले सुझाब दिए– गीति एल्बम निकाल्नुस् । रहर त थियो, तर उनीसँग पर्याप्त लगानी थिएन । दुःख गरेर पैसाको जुगाड गरे । मनोहरले नै म्युजिक एरेन्ज गरिदिए । यसरी १० गीतको एल्बम तयार भयो । २४ वटा कपी बोकेर प्रेमध्वज काठमाडौं आए । अनि रेडियोमा गुन्जिन थाल्यो– घुम्तीमा नआऊ है । गायक र संगीतकारका रूपमा प्रेमध्वजको चर्चा चुलियो । सँगै थियो अर्को गीत– मेरो मखमली घामको झुल्काझुल्का मायालु ।

सबैभन्दा ठूलो कमाइ श्रोताको माया हो । प्रेमध्वज कृतज्ञ छन्, तर उनी आश्चर्यमा परे जब उनले दुःखले रेकर्ड गराएका गीत अचानक म्युजिक नेपालको डिजिटल प्लेटफर्ममा बज्न थाले । ‘मलाई कुनै जानकारी नदिई त्यो एल्बमका गीत म्युजिक नेपालले आफ्नै कपिराइट बनाएछ । युट्युब, सिआरबिटी, पिआरबिटी, आइट्युन्स, अमेजनलगायत विभिन्न डिजिटल प्लेटफर्ममा बेची पनि सकेछ । यत्रो ठूलो बदमासी कुनै सर्जकले कल्पना पनि गर्न सक्दैन,’ उनी भन्छन् ।

यसबारेमा सोधखोज हुन थालेपछि म्युजिक नेपालका सञ्चालक सन्तोष शर्माले फोन गरेर प्रेमध्वजलाई भने, ‘तपाईंलाई सम्मान गर्ने तयारी गर्दै छौँ, नगद पुरस्कार पनि दिन्छौँ ।’ प्रेमध्वजले जवाफ फर्काए, ‘तपाईंको सम्मान र पुरस्कार म लिन सक्दिनँ । मैले मुम्बईमा दुःखले रेकर्ड गरेको गीत तपाईंले सोध्दै–नसोधी बेचिदिनुभयो । तपाईंको पुरस्कार होइन, क्षतिपूर्ति चाहिन्छ ।’

त्यो गीत मात्र होइन, उनले रेडियो नेपालमा रेकर्ड गराएकामध्ये करिब ४० गीत विनाअनुमति म्युजिक नेपालले बिक्री–वितरण गरिरहेको छ । ‘मेरो छोराले अमेरिकाबाट खबर गरेपछि मात्र थाहा पाएँ । त्यस्तै, रत्न रेकर्डिङबाट उत्पादन भएका मेरा अरू गीत पनि उनीहरूले विनाअनुमति व्यवसाय गरिरहेका छन्,’ प्रेमध्वजले नयाँ पत्रिकासँग भने ।

०४६/४७ तिर उनले केही गीत म्युजिक नेपालमै पनि रेकर्ड गराएका थिए । त्यसवेला ‘घाइते जवानी’ एल्बममा १० वटा गीत रेकर्ड भएका थिए । जब कि, त्यो गीत गाएको मात्र होइन, संगीत पनि उनले नै तयार पारेका हुन् । तर, रोयल्टीबापत उनले के पाए रु अहिलेसम्म जम्मा ४५ सय । उनी भन्छन्, ‘तर, त्यति ठूलो मिहिनेतबाट मलाई ०५१ मा एक हजार दिएका थिए । त्यस्तै, १०/१२ वर्षपछि रोयल्टी भनेर ३५ सय रुपैयाँ दिएका थिए ।’ त्यसपछि उनले आफ्ना सिर्जनाबारे कुनै जानकारी पाएका छैनन् ।

म्युजिक नेपालमा ०४६ मा गीत रेकर्ड गर्दा सम्झौता तीन वर्षको मात्र थियो । तर, सिर्जनाहरू म्युजिक नेपालले ३० वर्षसम्म बेचिरहेको छ । ‘हुन सक्छ कतिपय गीत उनीहरूले गीतकारबाट अनुमति लिएका होलान्, तर एउटा सर्जक म हुँ, गीतकार, संगीतकार र गायक तीनै पक्षसँग सम्झौता नगरेसम्म त्यसको सर्वाधिकार कुनै पनि पक्षले प्राप्त गर्न सक्दैन,’ कानुनी उपचारको तयारी गरिरहेका प्रेमध्वज भन्छन् ।

अम्बर गुरुङले कति गीत गरे, यकिन तथ्यांक छैन । तर, सबैजसो गीत म्युजिक नेपालले लगेको छ । अम्बर गुरुङका छोरा किशोर भन्छन्, ‘मसमेत सहभागी भएर सन् १९८६/८७ तिर पुल्चोकको स्याङ स्टुडियोमा ‘कहिले लहर कहिले तरंग’ एल्बम रेकर्ड गराएका थियौँ । त्यतिवेला क्यासेट निस्किएको थियो । पछि त्यो एल्बमलाई सिडीमा निकाल्न म्युजिक नेपालले सम्झौता ग(यो । त्यही सम्झौताका आधारमा एल्बमका गीतहरू म्युजिक नेपालले संसारभर बेचिरहेछ ।’

अम्बर गुरुङ सक्रिय रहुन्जेल म्युजिक नेपालले कति रोयल्टी दियो प्रेमध्वज प्रधानकै उदाहरणबाट अनुमान गर्न सकिन्छ । तर, सन् २०११ यता एक रुपैयाँ पनि नदिएको दाबी गर्छन् किशोर । ‘मैले एउटा कार्यक्रममा म्युजिक नेपालका सञ्चालक सन्तोष शर्मालाई भेटेको थिएँ । गीत कहाँ–कहाँ, कसरी राखिएको छ र बेचिएको छ त्यसको विवरण दिनुस् भनेको थिएँ । तर, उहाँले अहिलेसम्म चासै राख्नुभएको छैन,’ उनी भन्छन्, ‘अझ, रेडियो नेपालमा बुबाले रेकर्ड गराउनुभएका गीत चाङका चाङ उठाएर म्युजिक नेपालले लगेको रहेछ । ती गीतबाट कति कमाइ भयो हामीलाई जानकारी छैन ।’ नयाँपत्रिका दैनिकमा खबर छ ।