‘दुवै आखाँ खुलेपछि नयाँ जन्मको अनुभुति भएको छ ।’


हरेकपल January 19, 2020

रामेछाप, ५ माघ । उमेरको उत्तराद्र्ध पार गर्दे गरेका १ सय ५६ जना बृद्ध जेष्ठ नागरीकले आँखाको ज्योति पाउँदा हर्सित भएका छन् । तिलगंगा आँखा अस्पताल काठमाडौ र मन्थली सामुदायीक आँखा केन्द्रले सचालन गरेको निशुल्क आँखा शिविरबाट आँखाको ज्योति पाएपछि सवै जना उत्साहित भएका हुन् । उमेरले ८५ वर्ष नाघेकी संसरी सार्कीलाई आफनो बन्द अवस्था मापुगेका दुवै आँखामा आँखाको ज्योति आएपछि उनको खुशीको सिमा रहेन ।

जिल्ला सदरमुकाम मन्थलीमा माघ २ गते सम्म सञ्चालित आखाँ शिविरमा आखाँको शल्यक्रिया भएपछि उनको मात्र नभएर अरुको पनि खुशिले सिमा नाघेको हो । सन्सरीले भनिन् ३ बर्ष पछाडि एकै पटक दुवै आखाँ खुलेपछि मलाई नयाँ जन्मको अनुभुति भएको छ । जिल्लाको रामेछाप नगरपालिका वडा नं २ देउरालीबाट नगरपालीकाको सहयोगमा १ दिनको यात्रा पछि शिविरमा आएका संसरीको मंगलवार दिउसो आखाँको शल्यक्रिया भएको हो ।

उक्त शल्यक्रियाका लागि वरिष्ठ आँखा रोग विशेषज्ञ सन्दुक रुईतको नेतृत्वमा चिकित्सकको टोलीले सेवा दिलाएको थियो । लामो समयदेखि दुबै आखाँ बन्द भएकाले परिवारका सदस्यलाई पनि चिन्न नसकेको बताउने संसरीले अहिले आफुलाई नयाँ जन्म पाएको अनुभुति भएको बताइन् । उपचारका बारेमा सामान्य जानकारी समेत नहुँदा लामो समय सम्म रोग पालेर बस्न बाध्य भएको बताउने संसरी निशुल्क उपचार पाएकोमा झनै दंग परेकी छिन् ।

उपचारमा संलग्न चिकित्सकहरु आफुहरुका लागि भगवान सरह भएको अर्कि बृद्ध विष्णुमायाले बताईन् । उनले गरिव भएकै कारण गाउँमा धेरै रोगीहरुले दुःख झेल्नु परेको उनको अनुभब छ । आँखाको शल्यक्रियापछि दंग परेकी संसरी र अन्य जेष्ठ नागरिकहरु आफ्नो आँखाको शल्यक्रिया गरिदिने बरिष्ट नेत्र बिशेषज्ञ डा. सन्दुक रुइतसंग हर्षको आँसु झार्दे रमाएका थिए ।

शिविरमा संसरी जस्ता थुप्रै रोगीहरुले निशुल्क आँखाको उपचार पाएका छन् । आर्थीक अभावका कारण लामो समयसम्म उपचारबाट बञ्चित रहेका ग्रामिण बासिन्दाहरुको अहिले मन्थलीमा उपचार गर्नेहरुको ओइरो लागेको छ । गरीवीका कारण रोगको पहिचाह नभएर पनि उपचार गर्न नसकेको बताउने खाँडादेवीगा.पा. ८ का बाबुलाल लामाआखाँ बन्द भएको १० बर्ष पछाडि उपचारका लागी आएको बताउँछन् । निशुल्क उपचार पाएकोमा खुशी भएका लामाले ग्रामीण क्षेत्रमा हुने यस्ता शिविरहरुले आफुहरुजस्ता गरिवका लागी ठुलो सहयोग पु¥याउने बताए ।

तिलगंगाआखाँ प्रतिष्ठान काठमाडौं, रामेछाप सामुदायिक आँखा केन्द्र र तामाकोसी सहकारी अस्पतालको सहयोगमा सोमबारबाट शुरु भएको निशुल्क आँखा शिविरमा ३ सयभन्दा बढीले आँखाको उपचार गरेका छन् । बुधबार सम्पन्न शिविरमा १ सय ५६ जना मोतियाविन्दुका रोगीहरुको आखाँको शल्यक्रिया गरिएको रामेछाप सामुदायिकआँखा केन्द्रका इन्चार्ज बासुदेव अधिकारीले बताए । १५ भन्दा बढी स्वास्थ्यकर्मीको समुहले सहयोग गरेका थिए ।