हिमपहिरोमा परेका सात पर्यटक अझै वेपत्ता


हरेकपल January 19, 2020

पोखरा, ५ माघ । अन्नपूर्ण आधारशिविर पदमार्गमा हिमपहिरोमा परि वेपत्ता भएका सात पर्यटक आज बिहानसम्म पनि भेट्टाउन सकिएको छैन। उनीहरुको अवस्था अज्ञात नै छ। अन्नपूर्ण गाउँपालिका–११ को हिमालय र देउरालीबीच हिङकु केभमा शुक्रबार बिहान ११ बजेतिर हिमपहिरो आएको थियो। हिमपहिरोमा परि चार जना कोरियन र तीन जना नेपाली वेपत्ता भएका हुन्।

हिमपहिरोमा परि कोरियन नागरिक लि मिन सु, जोङ पिल बोङ, किम सुक जा र चोइ ह्यो वोन बेपत्ता कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए। उनका अनुसार वेपत्ता हुनेमा दुई जना पुरुष र दुई जना महिला छन्।

त्यस्तै, उनीहरूसँगै गएका तीन जना नेपाली पनि वेपत्ता छन्। वेपत्ता हुनेहरूमा वाङदक भोटे (शेर्पा), सरोज परियार र मेनबहादुर तामाङ रहेको प्रमुख जिल्ला अधिकारी केसीले बताए। हिङकु केभ क्षेत्रमा बाक्लो हिउँ परेकाले उद्धार गर्न कठिन भएको जनाएको छ। शनिबार दिउसो केही स्थानीय वासिन्दा हिमपहिरोस्थल पुगेका थिए। बाक्लो हिउँ भएकाले खोजबिन समस्या भएको प्रमुख जिल्ला अधिकारी केसीले बताए।

हिमपात र हिमपहिरो गएपछि शुक्रबार विभिन्न हिमाली क्षेत्रबाट पर्यटकलाई उद्धार गरिएको थियो। कास्कीका प्रमुख जिल्ला अधिकारी केसीका अनुसार, शुक्रबार ५१ कोरियन, १४ चिनियाँ, पाँच सिंगापुरे, दुई अस्ट्रेलियन र एक साल्भाडोरका नागरिकलाई उद्धार गरिएको थियो।