गायिका आस्था राउतलाई पक्राउ गर्न अनुमति जारी


हरेकपल January 19, 2020

काठमाडौं, ५ माघ । अभद्र व्यवहारसम्बन्धी कसुरमा गायिका आस्था राउत पक्राउ पर्ने भएकी छिन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका राउतलाई पक्राउ गर्न अनुमति जारी गरेको छ ।

यसअघि प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न अनुमति दिएको छ । प्रहरीले राउतलाई फरार अभियुक्तको सूचीमा राखेको छ ।

राउतले बधुबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूलाई नियमित सुरक्षा जाँचका क्रममा प्रहरीबाट दुर्व्यवहार भएको भन्दै आक्रोशपूर्ण भिडियो सन्देश जारी गरेकी थिइन् । उनले सो क्रममा प्रहरीपति नकारात्मक शब्द प्रयोग गरेकी थिइन् ।

भिडियो भाइरल भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीलाई निर्देशन दिएको थियो । त्यसपछि रानीपोखरीबाट विमानस्थलमा भएको घटनाबारे छानबिन सुरु भएको थियो ।

घटनाको भोलिपल्ट विमानस्थलमा प्रहरी र गायिकाबीच भएका विवादको भिडियो फुटेज सार्वजनिक भएको थियो । महिला प्रहरी रमिला श्रेष्ठको किटानी जाहेरीका आधारमा प्रहरीले राउतमाथि पक्राउ अनुमति जारी गरेको हो ।

श्रेष्ठले पनि अभद्र व्यवहारसम्बन्धी कसुरमा कारबाहीको माग गर्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमार्फत जोहरी दिएकी थिइन् ।