बागमती प्रदेशमा खर्चको अवस्था दयनीय


हरेकपल January 20, 2020

हेटौंडा, ६ माघ । बागमती प्रदेश सरकारको बजेट खर्चको अवस्था नाजुक देखिएको छ । चालू आर्थिक वर्ष २०७६(०७७ को ६ महिना बितिसक्दा प्रदेशले ९।१० प्रतिशत मात्र खर्च गर्न सकेको छ ।
चालू आर्थिक वर्षमा कुल ४७ अर्ब ६३ करोड ७५ लाख ६८ हजारको बजेट ल्याएको प्रदेश सरकारले पुस मसान्तसम्ममा ४ अर्ब ३३ करोड ६४ लाख रुपैयाँ मात्र खर्च भएको जनाएको छ । मन्त्रालयगत खर्चको अवस्था निकै कमजोर रहेको छ । मुख्य न्यायधिवक्ताको कार्यालयले यस अवधिमा प्रतिशतका आधारमा सबैभन्दा धेरै प्रगति गरेको छ । एक करोड ५९ लाख १४ हजार रुपैयाँ बजेट पाएको मुख्य न्यायधिवक्ताको कार्यालयले ५७ लाख ३ हजार रुपैयाँ अर्थात ३५ दशमलव ८४ प्रतिशत बजेट खर्च गरेको छ ।

प्रदेशसभा सचिवालयलाई ४२ करोड ५२ लाख १४ हजार रुपैयाँ छुट्याइएकोमा नौ करोड ६२ लाख १८ हजार रुपैयाँ अर्थात २२ दशमलव ६३ प्रतिशत खर्च गर्न सफल भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
मन्त्रालयगत रुपमा सबैभन्दा धेरै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बजेट खर्च गरेको छ । मन्त्रालयलाई चालू आर्थिक वर्षमा १ अर्ब ४९ करोड ३१ लाख रुपैयाँ बजेट छुट्याइएकोमा ६ महिनाको अवधिमा २३ करोड ९३ लाख ८६ हजार रुपैयाँ अर्थात १६ दशलमव ०२ प्रतिशत खर्च गरेको छ ।
त्यस्तै सामाजिक विकास मन्त्रालयले खर्च १४ दशमलव ४५ प्रतिशत रहेको छ । ६ अर्ब २६ करोड १० लाख ६१ हजार रुपैयाँ बजेट पाएको मन्त्रालयले ९० करोड ४६ लाख ८२ हजार रुपैयाँ खर्च गरेको देखिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको लागि ६ अर्ब २२ करोड १० लाख आठ हजार रुपैयाँ बजेट बिनियोजन भएकोमा ४ करोड ६९ लाख ७८ हजार रुपैयाँ अर्थात ७ दशलमव ५ प्रतिशत मात्र बजेट खर्च गरिएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले पनि ६ दशमलव ९४ प्रतिशत मात्र बजेट खर्च गरेको छ । मन्त्रालयलाई ३ अर्ब १३ करोड ४४ लाख रुपैयाँ बजेट छुट्याइएकोमा २ करोड १६ लाख ३४ हजार रुपैयाँ मात्र खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ६ महिनाको प्रगति पनि निकै न्यून छ । ४ अर्ब ९८ करोड ५० लाख ६४ हजार रुपैयाँ बजेट पाएको मन्त्रालयले ९ दशलमव ४३ प्रतिशत मात्र खर्च गरेको छ । ४६ करोड ९९ लाख ७ हजार रुपैयाँ मात्र मन्त्रालयले खर्च गरेको लेखा नियन्त्रक कार्यालयको तथ्यांकमा उल्लेख छ । कारोबार दैनिकमा खबर छ ।