मूल्य वृद्धिदर ६.५५ प्रतिशत


हरेकपल January 20, 2020

काठमाडौं, ६ माघ । गत मंसिरमा बजार भाउ (मूल्य वृद्धिदर) ६.५५ प्रतिशत बढ्यो । गत वर्षको पाँच महिनाको तुलनामा यो करिब २.८४ प्रतिशत विन्दुले बढी हो । उक्त अवधिमा खाद्य तथा पेय पदार्थको मूल्य वृद्धिदर करिब १० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ४.१० प्रतिशत बढेपछि मंसिरमा मूल्य वृद्धिदर अकासिएको राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको पाँच महिनाको समग्र आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख छ ।

‘तरकारी, मसला, फलफूल र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि उच्च छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ, ‘शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरण उपसमूहको मूल्य बढेको छ ।’ पाँच महिनाको अवधिमा बजार मूल्य वृद्धिदरमा निकै उतारचढाव देखियो ।

गत साउनमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ६.९५ प्रतिशत थियो । भदौमा केही घटेर ६.१६ प्रतिशत रहेको मूल्य वृद्धिदर असोजमा ६.२१ प्रतिशत रह्यो । कात्तिकमा फेरि यस्तो वृद्धिदर घटेर ५.७६ प्रतिशतमा झर्‍यो । यो सुधार धेरै दिन टिकेन । कात्तिकमा मूल्य वृद्धिदर ०.७९ प्रतिशत विन्दु बढेर ६।५५ प्रतिशतमा उक्लियो ।

बजारमा मूल्य वृद्धिदर निरन्तर बढ्नु नयाँ होइन । वस्तु तथा सेवाको मूल्य दिनहुँजसो उच्च दरले बढिरहेको छ । विगतमा पनि यस्तै थियो । तर विगतमा सरकारी तथ्यांकले मूल्य वृद्धिदर बढेको पुष्टि गर्न अप्ठ्यारो थियो । किनकि तथ्यांकमा मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहँदै आएको थियो । चालु आर्थिक वर्षको सुरुवातसँगै परिस्थिति बदलिएको छ । यस वर्षका सबै महिनामा मूल्य वृद्धिका तथ्यांक पनि बढेर आएका छन् । तथ्यांकले बजार भाउ अचाक्ली महँगिएको पुष्टि हुने विज्ञहरू बताउँछन् । कान्तिपुर दैनिकमा खबर छ ।