कस्ता व्यक्तिलाई मूर्खको संज्ञा दिइएको छ ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल January 21, 2020

मूर्खस्य पञ्च चिन्हानि गर्वो दुर्वचनं तथ ।
क्रोधश्च दृढवादश्च परवाक्येष्वनादरः ।।
– संस्कृत सुभाषितम्


गर्व, अपशब्द, क्रोध, हठ र परनिन्दा यी मूर्ख व्यक्तिका पाँच लक्षण हुन् ।


गर्व अर्थात् घमण्ड गर्ने व्यक्तिलाई पनि मूर्खको संज्ञा दिइएको छ । कुनै पनि कार्यप्रति आफूले गर्व गर्नु मूर्खको लक्षण प्रदर्शन गर्नु नै हो । किनकि संसारमा गर्व गर्ने कुरा केही पनि छैनन् । सबै ईश्वरकै सृष्टि हाँै । कुनै कुराको आविष्कार गरे भन्नु केवल प्रकृतिको प्रयोग गर्नुमात्र हो । जुन कुरा प्राप्त हुन्छ त्यो कर्मफल हो । केवल ईश्वरीय वरदान नै हो । आफ्नो शक्तिले प्राप्त भएको भने पनि वास्तवमा त्यो होइन । त्यस्ता प्राप्तिका अनन्तशृङ्खला चलिरहन्छन् । एक पछि अर्को प्राप्तिको कामना निरन्तर चलि नै रहन्छ जुन अनन्त छ । त्यसैले अनन्त भनेका केवल ईश्वर मात्र भएकाले कुनै पनि कुरामा गर्व उपयुक्त होइन । केवल मूर्खत्वको प्रदर्शन मात्र हो भनिएको छ ।


यसैगरी अपशब्द अर्थात् बोल्नु नहुने शब्दको प्रयोग गर्ने व्यक्ति पनि मूर्खकै कोटिमका पर्ने गर्दछन् । अपशब्दको प्रयोग नगर्नु नै उचित हुने नीतिकारको भनाइ रहेको छ ।
यसैगरी क्रोधी व्यक्तिलाई पनि मूर्खकै संज्ञा दिइएको छ । क्रोध केवल विनासको मार्ग मात्र हो । जसले जीवनलाई नै विनशको बाटोमा धकेलने गर्दछ । यसैगरी हठ गर्नु पनि मूखर्ता प्रदर्शन गर्नु नै हो । हठ भनेको कुनै पनि कुरा कार्यप्रतिको जिद्दी पन हो । यसरी जिद्दी प्रदर्शन गर्ने व्यक्तिलाई पनि मूर्खको संज्ञा नै दिइएको छ ।


सामान्यतः अरुको निन्दा गरेर हामी रमाउने यत्न गरिरहन्छौँ । यस्तो वानी पनि मूर्खत्वको प्रदर्शन मात्र हो । अरुको निन्दा गर्ने व्यक्ति पनि असल व्यक्तिको कोटिमा पर्न सक्दैनन् भन्ने नीतिज्ञको भनाइ रहेको पाइन्छ ।


अतः गर्व, अपशब्दको प्रयोग, क्रोध प्रदर्शन, हठ र अरुको निन्दा गर्ने कार्य मूर्ख व्यक्तिका लक्षण भएकाले यस्ता व्यवहारबाट टाढै रही सभ्य बन्नु पर्छ भन्ने नीति वचन मननीय छ ।