अवैध क्रसरलाई राजनीतिक संरक्षण


हरेकपल January 21, 2020

धनुषा, ७ माघ । प्रदेश सरकारले अवैध रूपमा सञ्चालित क्रसरमाथि कडाइ सुरु गरेपछि व्यवसायीले त्यसविरुद्ध राजनीतिक शक्ति परिचालन गर्न थालेका छन् । अवैध क्रसर निरन्तर सञ्चालनका लागि उनीहरूले प्रदेश सरकारमाथि दबाब बढाउन लागेका हुन् ।
यसका लागि प्रदेश २ का व्यवसायीको तदर्थ समिति नै गठन गरिएको छ । समितिको नेतृत्व महोत्तरीका क्रसर सञ्चालक प्रह्लाद क्षत्रीले गरेका छन् । उनी कांग्रेसका तर्फबाट बर्दिबास नगरपालिकाको मेयर र प्रदेशसभामा उम्मेदवार थिए । उनको बर्दिबास र भंगाहामा क्रसर उद्योग छ । पार्टी संगठन र क्रसरको कमाइका आडमा सुरक्षा निकाय र जिल्लाका प्रमुखसम्म सहज पहुँच बनाएका क्षत्री महोत्तरीमा अवैध उत्खननको नेतृत्व गर्छन् ।

क्रसर व्यवसायी तदर्थ समितिको सल्लाहकारमा सर्लाहीका शम्भुलाल श्रेष्ठलाई राखिएको छ । कांग्रेस छाडेर तत्कालीन माओवादी केन्द्रमा प्रवेश गरी ०७० को संविधानसभा निर्वाचनमा निर्वाचित भएका श्रेष्ठ ०७४ मा माओवादीबाट टिकट नपाएपछि पुनः कांग्रेसमा फर्केका थिए । पूर्वऊर्जा र पशुपन्छी विकास राज्यमन्त्री भइसकेका उनको पूर्वपश्चिम राजमार्गको फुल्जोरबाट ईश्वरपुरतर्फ जाने बाटामा सागरनाथ वन विकास परियोजना नजिकै क्रसर उद्योग छ । श्रेष्ठ सर्लाहीमा पहुँचवाला क्रसर व्यवसायी मानिन्छन् ।

अन्य प्रदेशमा क्रसर व्यवसायीको छुट्टै समिति गठन भए पनि प्रदेश २ मा नभएकाले नियमित प्रक्रियाअन्तर्गत नै तदर्थ समिति गठन गरिएको अध्यक्ष क्षत्रीले बताए । ‘केन्द्रमा नेपाल क्रसर उद्योग तथा खानी व्यवस्था महासंघको प्रदेश कमिटी गठन गरेका छौं,’ उनले भने, ‘धनुषाको औरही खोलामा भएको युवकको हत्यासँग तदर्थ समितिको कुनै सम्बन्ध छैन । अधिवेशनअघि नै गठन गर्न लागिएको थियो तर युवक हत्याका कारणले ढिलो भयो ।’ प्रदेश २ सरकारको निर्देशनमा ८ वटै जिल्लामा प्रहरीले क्रसर उद्योग बन्द गराएपछि व्यवसायीको काम ठप्प रहेको उनले बताए । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योगलाई सरकारले अवैध भन्न नमिल्ने उनले बताए । ‘क्रसरको लाइसेन्स लिएर सरकारलाई राजस्व बुझाउने उद्योग कसरी अवैध हुन्छ?’ उनले प्रश्न गरे ।

प्रदेश २ मा सञ्चालित धेरैजसो अवैध क्रसरमा दलका नेता, सांसद र जनप्रतिनिधिहरूको लगानी छ । धनुषाको मिथिला–३ मा कमल निर्माण सेवाले क्रसरको उपकरण र संरचनासहितको पूर्वाधार बनाएर सञ्चालन तयारी गरेको छ तर यसको कतै दर्ता छैन, इजाजत पनि लिएको छैन ।

उक्त क्रसर उद्योग प्रदेश २ का नेकपा सांसद किशोरी साहको हो । उक्त क्रसरले इजाजत नलिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । निर्माण व्यवसायीबाट राजनीतिमा प्रवेश गरेका सांसद साह नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल निकट मानिन्छन् । कान्तिपुर दैनिकमा खखबर छ ।