जाँदाजाँदै उपसभामुखले भनिन् : राजसंस्थाभन्दा बलियो पितृसत्ता


हरेकपल January 21, 2020

काठमाडौं, ७ माघ । प्रतिनिधिसभा उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएसँगै मुलुकमा राजसंस्था फाल्न सके पनि पितृसत्ता फाल्न नसकेको बताएकी छन् । सोमबार प्रतिनिधिसभाको पहिलो बैठक आफैंले सञ्चालन गरी राजीनामा बुझाएकी उनले त्यसलगत्तै पत्रकार सम्मेलन गरी यस्तो बताएकी हुन् । हक्की, स्पष्ट र मन नपरेको कुरालाई प्रस्टसँग प्रस्तुत गर्ने तुम्बाहाङ्फेले आफूले महिला भएर पनि संवैधानिक अंगको नेतृत्व लिन सक्ने दाबी प्रस्तुत गरिरहेकी थिइन् । उनले विगतमा पनि उपसभामुखबाट सभामुख बनेको नजिरलाई नजरअन्दाज नगर्न पार्टी नेतृत्वलाई पटक–पटक बताउँदै आएकी थिइन् ।

उनले यही विषयलाई आधार बनाउँदै महिला नेतृत्व अस्वीकार गर्ने पुरुषप्रधान समाजका कारण आफू सभामुख हुनबाट वञ्चित हुनेपरेको बताइन् । उनी राजनीतिमा महिलाको सहभागिताको विषयमा विद्यावारिधि गर्ने महिलासमेत हुन् । उनले आफूले विगतदेखि नै महिला अधिकारको विषयमा आवाज उठाउँदै आएको विषयलाई पत्रकारमाझ राखिन् ।
महिला अधिकारका क्षेत्रमा दिएको योगदानबाटै तुम्बाहाङ्फे राजनीतिमा प्रवेश गरेकी हुन् । धेरैले अधिकार र पहिचानजस्ता संवेदनशील विषय कुर्सीसम्म पुग्ने हतियार बनाउँछन् । अनि, पदमा पुगेपछि विगत बिर्सिदिन्छन् । तर, उपसभामुखको कुर्सीमा पुग्दा पनि उनले त्यसलाई कायम राखिन् । उनले उपसभामुखबाट राजीनामा दिए पनि लक्ष्य नबिर्सेको बताइन् ।

‘उप’ भनेको ‘चुप’ होइन भनेर प्रदेशसभाका उपसभामुख तथा उपमेयर, उपाध्यक्षलाई पटक–पटक ऊर्जा थप्ने कामसमेत गरिरहिन् । प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछिको अन्योलग्रस्त अवस्थामा उनले प्रतिनिधिसभाको नेतृत्व लिइन् । उपसभामुखले सभामुखकै हैसियतमा काम गर्न मिल्ने वा नमिल्ने विषयमा विवाद भइरहँदा उनले निर्धक्कसँग निर्णय गरेर सभामुखमा आफ्नो दाबी स्वाभाविक रहेको संकेत गरिन् ।

‘मैले बाजी मारें । म सभामुख हुन्छु वा हुन्नँ, दोस्रो पाटो थियो । तर, मैले यो संस्थालाई सफल बनाएँ, देशमा पितृसंस्था यस्तो रहेछ । परिवर्तन गर्न अझै धेरै मिहिनेत गर्नुपर्ने रहेछ । हामी सबै मिलेर राजसंस्था त फाल्यौं । राजसंस्थाभन्दा पितृसंस्था ठूलो रहेछ ।’

नेकपामा महिला नेतृत्वलाई पछि पारिएको विषयले बेलाबेला प्रवेश पाउने गरेको छ । तर, यसका पक्षमा भिड्दा सम्भावित अवसर गुमाउने भयले महिला नेतृ मौन बस्छन् । शिवमायाले एक हिसाबले जोखिम मोलेकी हुन् । महिला भएकै कारण क्षमता भएर पनि अवसर नदिइने राजनीतिक संस्कारविरुद्ध उनी डटिन् । ‘हामी सबै मिलेर राजतन्त्र त फाल्यौं तर राजनीतिमा रहेको पितृसत्तासँग सकिएन । राजतन्त्रभन्दा बलियो त पितृसत्ता पो रहेछ,’ उनले सोमबार भनिन्, ‘धेरैले सोधे, तपाईंको पछाडि को छ रु कोही थिएन । थियो त संविधान थियो । म पाँच वर्षका लागि चुनिएकी हुँ । संविधानले अझै तीन वर्ष साथ दिन्थ्यो । तर, नेकपाले उम्मेदवार छानेपछि मैले छाडिदिएँ ।’ राजधानी दैनिकमा खबर छ ।