आज फागुपूर्णिमा, महिमासहित हेर्नुहोस् २०७६ फाल्गुन २६ गते


हरेकपल March 9, 2020


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल फाल्गुन महिनाको २६ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मार्च महिनाको ९ तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२०) वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, तथा नेपाल संवत् ११४० अन्तर्गत परिधावी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत फाल्गुन शुक्लपक्षको पूर्णिमा तिथि राति ११।५३ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा र बृहस्पति धनु राशिमा छन् । पूर्वाफाल्गुनी नक्षत्र राति २।१ बजेसम्म रहनेछन् । यसैगरी आज धृति योग र भद्रा करण रहेका छन् । आज सूर्योदय बिहान ६।२२ मा छ भने सूर्यास्त बेलुका ६।०८ बजे हुनेछ । चन्द्रमा आज सिंह राशिमा छन् ।


आज फागुपूर्णिमाका साथै पूर्णिमा व्रत पनि परेको छ । जसलाई होली पनि भनिन्छ । होलीको पौराणिक प्रसङ्ग स्मरणीय छ । श्रीमद्भागवत्को सप्तमस्कन्धमा वर्णित प्रह्राद चरित्र नै होली मनाउने प्रमुख आधार हो । धर्मको जीत र अधर्मको हार भएको प्रसङ्ग होलीको आरम्भ विन्दु हो । हिरण्यकशिपु राक्षसकुलका प्रभावशाली राजा थिए । उनी आफैँलाई भगवान घोषणा गरेर हिँड्ने गर्दथे । उक्त राज्यमा कोही भगवान वा ईश्वर भए केवल हिरण्यकशिपुमात्र छ, अतः उसैको पूजा अर्चना गर्नुपर्छ भन्ने निरङ्कुश शासन चलाइएको थियो । समयक्रम वित्दै जाँदा आफ्नै कुलमा जन्मिएका छोरा प्रह्रादले हिरण्यकशिपुको देवत्व स्वीकार गरेनन् । उक्त दानवीय अहंकारलाई स्वीकार नगरेकाले प्रह्रादलाई निकै नै संझाउने बुझाउने यत्न गरियो । जतिससुकै दानवीय शिक्षा प्रदान गरे पनि जन्मजात भगवत्भक्तिले भरिपूर्ण प्रह्रादमा परिवर्तनका पालुवा पलाएनन् । फलतः प्रह्रादद्वारा हिरण्यकशिपुलाई भगवान स्वीकार गरिएन ।


प्रह्रादको भगवत् भक्तिबाट चिडिएका हिरण्यकशिपु आफ्नै पुत्रलाई अनेकौ दण्ड सजाय दिन थाल्छन् । जतिसुकै यातनाका परीक्षामा पनि प्रह्रादको भगवद्भक्ति निश्चल रहन्छ । बरु उल्टै प्रह्रादले भगवान विष्णुका लीला चरित्रगान गर्न सबैलाई अभिप्रेरित गर्न थाल्छन् । पछि हिरण्यकशिपुद्वारा प्रह्रादलाई वन्दी बनाइयो । र, पनि विचारमा कुनै परिवर्तन आएन । निकै यत्नहरू विफल भएपछि अन्न्ततः प्रह्रादलाई मृत्युदण्डको सजाय सुनाइयो । प्रह्रादलाई सो मृत्युदण्ड पनि सहज स्वीकार्य भयो तर हिरण्यकशिपुलाई ईश्वरमान्ने कुरा स्वीकार भएन । सारा प्रयास विफल भएपछि प्रह्रादलाई भीरबाट लडाइयो । अपट्टे भीरका टुप्पाबाट खसाएपछि बाँच्ने कुनै सम्भावना रहँदैन भनेर सबैले प्रह्रादको मृत्यु निश्चय गरे । तर प्रह्राद उक्त भीरबाट खसाइँदा पनि जीवित नै रहे ।


सारा उपाय प्रयोगगर्दा पनि प्रह्रादको अन्त्य हुन नसकेपछि हिरण्यकशिपुमा निकै चिन्तन मन्थन भयो । हिरण्यकशिपुकी छोरी अर्थात् प्रह्रादकी दिदी सिंहिकालाई अग्निमा नजल्ने वरदान मिलेको थियो । त्यही प्रयोग गरेर प्रह्रादलाई जलाउने दुष्कृत्यको आरम्भ गरियो । सिंहिकाले प्रह्रादलाई काखमा राखेर अग्निमा प्रवेश गरिन् । दुवै अग्निमा प्रविष्ट भए पनि अग्निका ज्वालाले सिंहकिालाई नै जलाउन थाल्यो, प्रह्रादलाई केही भएन । खाल्टो निकै ठुलो खनेको र त्यहँबाट प्रह्राद भग्छन् भनेर निकै असजिलो बनाइएकाले सिंहिका पनि भाग्न सकिनन् । अन्ततः सिंहिका त्यहीँ भस्म भइन्, प्रह्रादमा भगवत् कृपा भएकाले जस्ताको त्यस्तै रहे, केही भएन ।


यही घटना पछि असत्यको पराजय र सत्यको विजय स्वरूप एक आपसमा रङ दलेर हर्षोल्लासको होलीपर्व मनाउन थालिएको हो । होलिका तिनै सिंहिकाको अर्को नाम हो । आफ्नै भाइलाई मार्न उद्यत दिदीको कठोर हृदयको अन्त्य भएको उक्त घटना फाल्गुन पूर्णिमाकै दिन घटेकाले फागुन शुक्ल पूर्णिमालाई विशेष रूपमा मनाइएको हो । द्वापर युगको यही धार्मिक एवं ऐतिहासिक पृष्ठभूमीमा होली पर्व मनाइदै आइएको छ ।


यसैगरी द्वापर युगमा पुतना राक्षसनीले धेरै बालबालिकालाई आफ्नो विषयुक्त दूध चुसाइ मार्ने गरेकी र कृष्णलाई समेत त्यसरी नै मार्न लाग्दा भगवान् श्रीकृष्णले पुतनाको प्राणवायु चुसेर मारिदिँदा गोकुलवासीले राक्षसीलाई डढाई खरानी बनाएको र त्यसको खुसीयाली मनाउन होली खेल्ने परम्परा चलेको मान्यता पनि पाइन्छ । साथै प्रेमका प्रतिमूर्ति साक्षात् श्रीकृष्ण र गोपिनीहरूको प्रेम प्रदर्शन गर्न होली उत्सव मनाइएका कथा प्रसङ्ग पनि पाइन्छन् । विशेषतः प्रह्राद रचित्रको पौराणिकप्रसङ्ग अधिक स्वीकार्य देखिन्छ ।


नेपालमा पृथ्वीनारायण शाहका पालासम्म होली दरबारमै सीमित रहेको तत्कालीन समयमा नेवारी युवतीले गाएका ‘‘जुजुया होली मय जुया मयला’’ (राजाहरूलाई मात्र रमाइलो छ, हामीलाई छैन) भन्ने लोकगीतबाट बुझिन्छ । काठमाडौँ उपत्यकामा होली पर्व वसन्तपुर हनुमान ढोकामा चिर जडित लिङ्गो उभ्याएपछि सुरु हुन्छ । जुन सात दिनसम्म मनाइन्छ । चिरलाई यमुना नदीमा निर्वस्त्र मस्त नुहाउन लागेका गोपिनीका विभिन्न रङ्गका कपाडाका प्रतीक मानिन्छ ।
जनकपुरमा जनकपुरधाम परिक्रमा पश्चात् होली खेल्ने चलन रहेको छ । पूर्णिमाका विहानका राति जनकपुरधाम परिक्रमा गरेर भोलिपल्ट होली खेल्ने चलन रहेको छ । मीष्टान्न खुवाई खुशी साटासाट गर्दै एक आपसमा अविर लगाईदिने परम्पराको निरन्तरता हाल पनि पाउन सकिन्छ । यस अवसरमा साहित्यिक हास्य व्यङ्य कविता, चुटकिला, भजन, गजल, उखान टुक्का सुनाई मनोरञ्जन पनि गरिन्छ ।


पश्चिम तराई कञ्चानपुर, कैलाली आदि क्षेत्रमा बस्दै आएका राना थारूहरू होलीलाई फगुवाले सम्बोधन गर्दछन् । उनीहरू खानपिन नाचगानलाई प्राथमिता दिन्छन् र नाचगानमा लगाउने कपडा घर घरमा तयार गर्छन् । फगुवालाई बोली चालीको भाषामा ‘‘हल्की’’ भनिन्छ । राना थारूहरूको रहन–सहनमा महिलाको विशेष अधिकार हुँदा समाजमा कसैको खराब नियत, चाल चलन छ भने त्यस्तोलाई त्याग्न महिलाद्वारा फगुवा गीतबाट अर्तिउपदेश दिई सतर्कसमेत गराइन्छ ।


होरी, होली, फागु, फगुवा, वसन्त उत्सव आदिले पुकारिने रङ्गिन पर्व नेपाल र भारतलगायत अन्य मुलुकमा पनि यस्तै विभिन्न प्रकारले मनाउने गरिन्छ । रूसमा रङ्गको पर्वका रूपमा हास्यपर्व मनाइन्छ भने बेल्जियममा हाँसो ठट्टाको रूपमा एक आपसमा उपहार आदान प्रदान गरेर यो पर्व मनाइन्छ । यसैगरी हङ्गेरीमा युवकले आफ्ना विशेष प्रेमी युवतीलाई रङपानी खन्याएर मनाउछन् भने इजिप्ट, जापान, सुमात्रा आदि देशमा नाचगान र नयाँ अन्नको स्वागत सत्कार गरी होली मनाइन्छ । युनानमा भने आगो बाली नाचगान गरेर फागुपर्व मनाइन्छ ।


स्थान विशेषमा होली मनाउने आ–आफ्नै चलन रहेका छन् । विभिन्न पौराणिक प्रसङ्गलाई आधार बनाएर परापूर्वकालदेखि नै होली पर्व मनाउन थालेको इतिहास पाइन्छ । होलीका स्थनीय भेद भिन्न भिन्न छन् । कतै पूर्णिमा लागेसँगै होली मनाइन्छ त कतै पूर्णिमा सकिएपछि । पौराणिक आधारलाई हेर्ने हो भने पूर्णिमाको समापनसँगै होलिका दहन भएकाले त्यसपछि मनाउनु उपयुुक्त देखिन्छ ।


नेपालका तराई क्षेत्रमा होलिपूर्णिमाको समापनसँगै पर्व मनाइन्छ भने पाहाडी क्षेत्रमा पूर्णिमाको प्रारम्भ सँगै मनाउने गरिन्छ । सत्यको विजयोल्लासलाई मनाउने धार्मिक एवं साँकृतिक पर्व आज विकृतिको वादलमा मडारिरहेको छ । धार्मिक, साँस्कृतिक र ऐतिहासिक पृष्ठभूमिलाई उजागर नगरी पर्व मनाउने आजको यो परम्पराले भोलि सही गति लिन गाह्रो हुन्छ । विकृतिले संस्कृति विगार्ने हुँदा आज सबैमा सचेतना हुनु आवश्यक देखिन्छ ।