किताबी ज्ञानमात्र किन कच्चा हुन्छ ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल March 9, 2020

यस्य नास्ति स्वयं प्रज्ञा, शास्त्रं तस्य करोति किम् ।
लोचनाभ्यां विहीनस्य, दर्पणः किं करिष्यति ।।
–हितोपदेश


स्वविवेक नहुनेलाई शास्त्रको कुनै अर्थ रहँदैन । जसरी दृष्टिविहीनलाई ऐनाको कुनै काम हुँदैन ।

स्वविवेक भनेको व्यक्तिको दिव्यचक्षु हो । जसलाई जागृत गराउनका निम्ति कठिन तपसयाको जरुरत पर्ने गर्दछ । विवेकी व्यक्तिले नै शास्त्रका मर्म भेद गर्न सक्दछन् । अन्यथा शास्त्र भए पनि अज्ञानी व्यक्तिले शास्त्रीय चिन्तन गर्न सक्दैनन् भनिएको छ । जसरी दृष्टिविहीनलाई ऐनाले कुनै काम गर्दैन त्यसैगरी ज्ञानहीन जनलाई पनि शास्त्रको कुनै अर्थ रहँदैन । अर्थात् कितावी ज्ञानजस्तै हुन पुग्छ । जुन चाहिएका वेलामा उपलब्ध हुन सक्दैन ।


स्वयं प्रज्ञा भनेको स्वतः स्फुरण हुने ज्ञान हो । जो हामीलाई नित्य आवश्यक हुन्छ । कतिपय अवस्थामा स्वविवेकको प्रयोग पनि गर्नुपर्ने हुन्छ । यस्तो वेलामा शास्त्रीय ज्ञानले मार्गदर्शन गराएका हुन्छन् । जसको प्रयोगले सहसा कार्यसम्पादन गर्न सकिन्छ ।


स्वयं ज्ञानका चक्षु खुल्न सकेनन् भने कितावी ज्ञानले पनि कुनै अर्थ राख्दैन । कितावी ज्ञानलई व्यवहारमा प्रयोगयोग्य बनाउन केवल स्वयं प्रज्ञालाई नै जागृत गराउनसुपर्दछ । जुन कुरा सत्कार्य एवं सज्जनको संगतले प्राप्त हुन्छ । अन्यथा हामी उही अज्ञानको भुमरीमा परेर कितावी ज्ञानमा मात्र सीमित रहन्छौ जुन परेका वेलामा काम नदिने हुन्छ । जसरी दृष्टिविहीनलाई ऐनाले कुनै अर्थ राख्दैन त्यसैगरी स्वविवेक नुहनेका निम्ति शास्त्रले पनि कुनै अर्थ राख्दैनन् । अतः शास्त्रीय ज्ञानको गंगालाई स्वविवेकमा वाटिकामा सजाउन सक्नुपर्दछ अन्यथा कितावी ज्ञान पनि कच्चा ठहरिनपुग्छ भन्ने आजको नीति वचन मननीय छ ।