युएईमा दुईजना र अष्ट्रेलियामा एकजना नेपालीलाई कोरोना संक्रमण


हरेकपल March 9, 2020

काठमाडौं, २६ फागुन । संयुक्त अरब इमिरेट्स (यूएई)को स्वास्थ्य मन्त्रालयले दुई नेपालीसहित थप १४ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।

मन्त्रालयकाअनुसार नयाँ संक्रमितमध्ये चारजना यूएईका छन् । यस्तै दुई नेपाली, तीन इटलियन, दुई बंगलादेशीका साथै रुस, सिरिया र भारतका एक–एक नागरिक छन् । यससँगै यूएईमा संक्रमितको संख्या ५९ पुगेको छ ।

त्यसैगरी, नेपालबाट अस्ट्रेलिया पढ्न गएका एक विद्यार्थीमा कोरोनाभाइरस संक्रमण देखिएको क्यानबेरास्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।

हाल उनको रोयल होबार्ट अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालको भनाइ उद्धृत गर्दै त्यहाँस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

ती विद्यार्थीमा कोरोना संक्रमण भेटिएपछि उनीसँगै अपार्टमेन्टमा बसेका चारजनालाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

अपार्टमेन्टमा सँगै बसेका चारजनामा भने संक्रमण नदेखिएको बताइएको छ ।