जनकपुरधाम, २६ फागुन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई सोमबारबाट महामूर्ख बनेका छन् । जनकपुरबासीले सोमबार उनलाई ‘महामुर्ख’को उपाधि दिएका हुन् ।
मिथिला नाट्यकला परिषद् (मिनाप)ले प्रत्येक बर्षको होलीका दिन यो उपाधि प्रदान गर्दैं आएको छ । सोहीबमोजिम यसपटकको उपाधि प्रदेशका २का मुख्यमन्त्री राउतलाई दिइएको हो ।
यो उपाधिको नाम नकारात्मक भए पनि सो उपाधि समाजमा योगदान पुर्याए व्यक्तिलाई प्रदान गर्ने गरिन्छ । होलीमा मजाक शैलीमा महामुर्ख भनेर यो उपाधि मिनापले २०६१ सालदेखि नै प्रदान गर्दै आएको छ ।
मुख्यमन्त्री राउतले प्रदेशको समाजिक रुपान्तरणका लागि ‘बेटी पढाउ बेटी बचाउ’, ‘छोरी शिक्षा विमा’ सहितको अभियान चलाएको र दलित र महिलाको लागि आरक्षणको व्यवस्था गरेका कारण उनलाई यो उपाधि दिइएको मिनापले जनाएको छ ।
कसले पाए अन्य उपाधि ?
यसपटक पटमुर्खको उपाधि राजपाका प्रदेश सांसद मनीष सुमनले, हराशंखको उपाधि प्रदेश सांसद रामअशिष यादवले, सिलौटा उपाधि नेकपा प्रदेश सांसद रामचन्द्र मण्डलले र भभकौवा उपाधि राजपाका प्रदेश सांसद प्रमेश्वर साहले. पाएका छन् ।
त्यस्तै, टुनमुसरी उपाधि जनकपुरधामकी उप–मेयर रीता झालाई, लोढाशंकर उपाधि पत्रकार महासंघ धनुषा शाखा अध्यक्ष अनिल मिश्रलाई, घरघुसना उपाधि मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलाई, बेलगोबना उपाधि साहित्यकार रोशन जनकपुरीलाई दिइएको छ ।
बेस कुल्हैर उपाधि युवा अभियन्ता सुशील कर्णलाई, खाप सुरत उपाधि महोत्तरीको पिपरा नगरपालिका प्रमुख विक्रम चौधरीलाई, अदलबदली उपाधि पुनम झालाई र बज्रकिट उपाधि बलराम साहलाई प्रदान गरिएको छ ।
मिनापले भाषा, संस्कृति, कला, सामाजिक रुपान्तरण, राजनीतिजस्ता विधामा प्रत्येक वर्ष महामूर्खको उपाधि प्रदान गर्दै आएको छ ।