महाकुलुङ चक्रपथको काम अन्तिम चरणमा


हरेकपल March 10, 2020

सोलुखुम्बु, २७ फागुन । महाकुलुङ चक्रपथ निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । गाउँपालिकाको आफ्नै लगानीमा निर्माण भइरहेको उक्त चक्रपथको काम १० प्रतिशत मात्रै बाँकी रहेको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिनुभयो । अनुगमनका क्रममा गुणस्तरीय काम भएको उहाँको प्रतिक्रिया छ ।

अध्यक्ष किराँतीका अनुसार गाउँपालिकाको गौरवको आयोजनाका रुपमा रहेको चक्रपथले गाउँपालिकाका पाँचवटै वडा केन्द्रलाई छुनेछ । सोको दूरी ४१ किलोमिटर रहेको छ । विसं २०७४ फागुनदेखि निर्माण शुरु भएको चक्रपथ सम्पन्न गर्न रु १० करोड लागत अनुमान गरिएको छ । हालसम्म रु साढे सात करोड खर्च भइसकेको गाउँपालिकाले जनाएको छ ।

सडकको निरीक्षणपश्चात् अबको दुई महिनाभित्र गौरवको आयोजनामध्ये एकवटा आयोजना चक्रपथ निर्माणसम्पन्न हुने गाउँपालिका अध्यक्ष किराँतीले बताउनुभयो । बाह्रै महिना सञ्चालन हुने जिकिर गरिएको चक्रपथ निर्माण भएपछि गाउँपालिका केन्द्र आउँदा पाँच घण्टासम्म हिँड्नुपर्ने नागरिकको बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरिएको छ ।

सदरमुकाम सल्लेरीदेखि भौगोलिकरुपमा निक्कै टाढा एवम् विकट गाउँपालिकाका रुपमा उक्त गाउँपालिकालाई लिइन्छ । स्थानीय तहको निर्वाचनका बेला सडक पहुँच नपुगेको यस गाउँपालिकामा डेढ वर्षदेखि हिउँदको समयमा सदरमुकामसहित राजधानीसम्म सिधा सडक सञ्चालनमा रहेको छ । त्यस गाउँपालिकामा जान दूधकोशी नदी पार गर्नुपर्ने भएकाले हिउँदको समयमा ह्युम पाइप राखेर सिधा सवारी सञ्चालन गरिन्छ । पानीको बहाव बढेपछि ह्युम पाइप झिकेपछि सिधा सवारी आवगमन बन्द हुन्छ ।

यसरी सडक पहुँच पुग्नाका साथै स्थानीय सरकार गठन भएपछि सातुसामाल बोकेर सदरमुकाम सल्लेरी पुगेर बास बसेर सरकारी सेवा लिनुपर्ने बाध्यताको अन्त्य भएको वडा नं ५ की तारा कुलुङले बताउनुभयो । दुई दिनको पैदल यात्रापछि सदरमुकाम पुग्ने महाकुलुङवासी अहिले एकै दिनमा सदरमुकामसम्म पुगेर काम सकेर घर पुग्छन् । केही दिनअगाडि मात्रै यस गाउँपालिकाले १५ श्ययाको महाकुलुङ प्राथमिक अस्पतालको उद्घाटन गरेको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उक्त अस्पतालको उद्घाटन गर्नुभएको हो ।