नेगेटिभ सर्किट ब्रेक लागेपछि सेयर कारोबार बन्द


हरेकपल March 10, 2020

काठमाडौं, २७ फागुन । सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक लागेपछि मंगलबार कारोबार बन्द भएको छ । कारोबार शुरु भएको एक घण्टा वित्न नपाउदै ४ प्रतिशतले ओरालो लागेर नेप्सेमा पहिलोपटक ११ बजेर ५९ मिनेटमा ब्रेक लागेको थियो ।

पहिलो पटक ब्रेक लागेर १२ः२० मा खुलेको कारोबार दोस्रोपटक १२ः३० मा ५.०२ प्रतिशतले बजार घटेर पुनः ब्रेक लाग्यो । ६ प्रतिशतले घटेपछि तेस्रोपटक ब्रेक लागेको छ । १ बजेर १३ मिनेटमा ६ प्रतिशतले घटेको थियो ।

योसँगै नेपाल स्टक एक्सचेञ्जले आजका कारोबार पूर्ण रुपमा बन्द गरेको छ । शेयर बजार तीव्र गतिमा उकालो लाग्दा वा ओरालो लाग्दा लगानीकर्तालाई धेरै असर नपरोस् भन्नका लागि निश्चित प्रतिशतको उतार–चढावमा कारोबार स्थगन गर्ने प्रणाली नै सर्किट ब्रेक हो ।

कारोबार शुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बिचमा ४ प्रतिशतले, दोस्रो घण्टा अर्थात १२ देखि १ बजेको बिचमा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।

ब्रेक लागेको अवस्थामा पहिलो घण्टा २० मिनेट, दोस्रो घण्टा ४० मिनेट र त्यसपछि ब्रेक लागे दिनभरकै कारोबार स्थगन हुने व्यवस्था छ ।

ब्रेक लागेर कारोबार स्थगन भएसँगै मंगलबार नेप्से परिसूचक ८६ दशमलव ३९ अंकले घटेर १३४९ दशमलव ३१ अंकमा झरेको छ भने कारोबार रकम १ अर्ब ७ करोड रूपैयाँमै रोकिएको छ ।