स्वास्थ्यमन्त्री भन्छन्– कोरोना संक्रमित देशबाट नेपाली नागरिक ल्याएर क्वारेन्टाइनमा राख्न सकिन्न


हरेकपल March 10, 2020

काठमाडौं, २७ फागुन । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्ध पूर्वसावधानी अपनाउन क्षमता नभएको जनाउन दिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना संक्रमणको आशंकामा चीनको वुहानबाट उद्धार गरेकालाई जस्तो अरुलाई क्वारेन्टाइनमा राख्न नसक्ने बताएका हुन् ।

मंगलबार राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्ने क्रममा स्वास्थ्यमन्त्री ढकालले कोरोना संक्रमणको जोखिम भएका देशबाट नेपाली नागरिक फर्काएर ल्याउन र क्वारेन्टाइनमा राख्न सरकार सक्षम नरहेको बताएका हुन् । उनले व्यक्तिले आफैँ क्वारेन्टाइनमा बस्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘क्वारेन्टाइन भन्नेवित्तिकै हिजो चीनबाट विद्यार्थी ल्याएर सरकारले गर्ने, सरकारकै व्यवस्थापनमा गर्ने भन्ने कुरा नगरौँ । अब सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ । डब्ल्युएचओको मापदण्डभित्र बस्नुपर्‍यो ।’

सरकारले ज्वरो रुघाखोकी लागेमा अस्पतालमा परीक्षणको व्यवस्था गर्ने र परीक्षण गराउँदा पोजेटिभ रिजल्ट देखिएमा अस्पतालमै राखेर उपचारको व्यवस्था गर्ने अन्यथा जिम्मा लिन नसक्ने मन्त्री ढकालले बताए ।

सरकारले ठूलो समूहलाई क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा मात्र भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनलाई प्रयोग गर्ने मन्त्री ढकालको भनाइ छ ।

सरकारले चीन, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी, इटाली र इरानबाट स्वदेश फर्किन चाहने नेपालीलाई त्यहाँको चिकित्सकले ७ दिनअघिदेखि कोरोनाको संक्रमण छैन भन्ने प्रमाणित गरेको प्रमाणपत्र भए मात्रै नेपाल प्रवेश गर्न पाउँछ ।

नेपाल फर्केर १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्रै सामाजिक जीवनमा संलग्न हुन पाउने मन्त्री ढकालले बताए ।