शहिद पत्नी गुरुङको निधन


हरेकपल March 10, 2020

काठमाडौं, २७ फागुन । २०१८ सालको क्रान्तिका शहिद लालध्वज गुरुङकी धर्मपत्नी अमृता गुरुङको आज बिहान १० बजे आफ्नै निवास चितवन शारदानगरमा देहावसान भएको छ।

तत्कालिन राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्रको अपहरण गरेपछि नेपाली कांग्रेसले सञ्चालन गरेको सशस्त्र क्रान्तिका क्रममा अमरत्व प्राप्त गर्नुभएका शहिद लालध्वजकी पत्नीले तत्कालीन पञ्चायती सरकारले घर जलाई ,जग्गा कब्जा गर्दा समेत कहिल्यै हिक्मत हार्नु भएन ।

यस कठिन घडिमा अनेकौं हण्डर ठक्कर खादै परिवारको पालनपोषणका साथ प्रजातान्त्रिक आन्दोलनमा आफ्ना सन्ततिहरुलाई क्रियाशील राख्नु भयो। अमृता आमा लगायत कयौ आमाहरुको पुछिएका सिन्दुरले आर्जन गरेको लोकतन्त्रको वासना आजका हाम्रा पुस्ताहरुले उपयोग गर्न पाएका छौ।

२००७ सालको क्रान्तिमा उहाँका देवर धर्मध्वज गुरुङले अमरत्व प्राप्त गर्नु भएको थियो। दिगंवत वीरङ्गाना आमाको आत्माको चिरशान्तिको कामना गर्दै उहाँका पुत्ररत्न चन्द्रध्वज गुरुङ लगायत समस्त शोकाकुल परिवारजनमा हरेकपलको तर्फबाट हार्दिक समवेदना । उहाँको अन्तिम संस्कार गुरुङ संस्कार बमोजिम आजै विजयनगर गणेशनाथ स्थित नारायणी नदि किनारमा गरिएको पारिवारीक स्रोतले बताएको छ ।

यसैबीच नेपाली कांग्रेसले एक विज्ञप्ति जारी गर्दै गुरुङको निधन प्रति गहिरो दुःख व्यक्त गरेको छ ।