व्यक्तिको असलीरूप किन लुक्न सक्दैन ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल March 11, 2020

यदि सन्ति गुणाः पुंसां विकसन्त्येव ते स्वयम् ।
न हि कस्तुरिकामोदः शपथेन विभाव्यते ।।
–हितोपदेश

मान्छेमा हुने गुण स्वतः नै प्रकाशित हुने गर्दछ । जसरी मृगले थाह नपाइकन नै कस्तुरीको वास सर्वत्र फैलिरहेको हुन्छ ।

आगो छोपेर छोपिदैन । यसैगरी सूर्यलाई हत्केलाले छेकेर मात्र पनि छेकिन्न । किनकि त्यो प्रकाशकीय गुण हो । अर्थात् छोपिएर रहननसक्नु आगो एवं सूर्यको अन्तर्निहित गुण भएजस्तै व्यक्तिको स्वभाव पनि कुनै न कुनै मध्यमले प्रकाशित हुने गर्दछ ।


मान्छे के कस्तो स्वभावको हुन्छ भन्नेकुरा उसका हरेक कार्य एवं व्यवहारबाट प्रष्ट पारिरहेको हुन्छ । मान्छेको आन्तरिक रूप वचन र कर्मका माध्यमबाट झल्किने गर्दछ । जस्तो व्यवहार गर्दछन् अनि जस्तो बोलीको प्रयोग गर्दछन् सोही प्रकृतिका व्यक्ति हुन्छ । किनकि त्यो ती व्यक्तिको अन्तरिक गुण हो । जति लुकाउन खोजे पनि यस्तो गुण लुक्दैन भनिएको छ ।
अर्काको आलोचना गर्ने व्यक्तिले कुनै न कुनै माध्यमबाट आलोचना नै गरिरहेको हुन्छ । चाहे सत्कर्म नै गरेको किन नहोस् अलोचना गर्ने व्यक्तिले केवल त्यहाँ आलोचना मात्रै देख्ने गर्दछ र सोही प्रकट गर्दछ । यसैगरी सबैमा सद्व्यवहार गर्ने व्यक्तिले नराम्रोमा पनि राम्रो कुरामात्र नित्य देखिरहेको हुन्छ । किनकि यो मानवीय स्वाभाविक गुण हो ।


जसरी मृग कस्तुरीको वासना खोज्न नित्य भौँतारिरहेको हुन्छ । उसलाई आफ्नै नाइटोबाट कस्तुरीको वासना आइरहेको स्वयं मृगले नै थाह पाएको हुँदन । तर मृगले थाह नपाए पनि उसको वासनाले जसरी सर्वत्र सुगन्धित पारिरहेको हुन्छ त्यसैगरी मान्छेको असली रूप पनि बोली र व्यवहारमा झल्किने गर्दछ भन्ने आजको. नीतिवचन मननीय छ ।