राजतन्त्रप्रति आपत्ति जनाउँदै पूर्वमन्त्री सुनीलबहादुर थापाले बहिष्कार गरे राप्रपा एकता


हरेकपल March 11, 2020

काठमाडौं, २८ फागुन । पूर्वमन्त्री एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापाले राप्रपा र राप्रपा संयुक्तको पार्टी एकीकरण सभा बहिष्कार गरेका छन् । उनले आफ्ना पिताको राजनीतिक लाइनमा अडिग रहने बताउँदै एकीकरण सभा बहिष्कार गरेका हुन् ।

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार राष्ट्रिय सभागृहमा एकता–सभा मनाइरहँदा पूर्वमन्त्री सुनीलबहादुर थापा भने मालीगाउँस्थित आफ्नै निवासमा निकटस्थसँग बैठक गरिरहेका थिए । राजतन्त्रको पक्षमा उभिँदै आएको कमल थापा नेतृत्वको पार्टीसँग एकता गर्ने निर्णयप्रति उनले आपत्ति व्यक्त गरेका छन् । 

अध्यक्ष पशुपति समशेरको निर्णयमाथि आपत्ति जनाउँदै थापाले मंगलबारको केन्द्रीय कार्यसमितिको बैठक पनि बहिष्कार गरेका थिए । आफू गणतन्त्र र संघीयताको पक्षधर रहेको भन्दै उनी एकीकरणमा सहभागी नभएका हुन् । 

पशुपतिसमशेर राणाको नेतृत्वले राजतन्त्रलाई आत्मसात् गर्न स्वीकार गरेकोमा उनको आपत्ति छ । सत्तामा रहेका केही नेताहरुको कमजोरीलाई देखाएर सिंगै व्यवस्थाको विरोध गर्न नमिल्ने थापाको मत छ ।

सूर्यबहादुर थापाको नेतृत्वमा रहेको राप्रपाले गणतन्त्र र संघीयताको पक्ष लिँदै आएको थियो । सूर्यबहादुरको निधनपछि पनि राप्रपाले गणतन्त्र र संघीयतासहितको संविधानलाई स्वीकार गर्दै आएको थियो ।