नेकपा माेडेलमा राप्रपा एकता, तीनैजना अध्यक्षले गीता छाेएर भने- कहिल्यै पार्टी फुटाइदिनँ


हरेकपल March 11, 2020

काठमाडाैं, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तबीच बुधबार नेकपा माेडेलमा एकता भएको छ । राप्रपामा तीन अध्यक्ष रहने गरी एकता भएको हाे ।

सहमतिअनुसार पशुपतिशम्शेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापा तीनैजना अध्यक्ष रहनेछन् । शनिबार राति राणाले नेतृत्व गरेको राप्रपा संयुक्त र थापाले नेतृत्व गरेको राप्रपाबीच पार्टी एकता गर्ने दश बुँदे सहमति पत्रमा हस्ताक्षर भएको थियो।

त्यसको चार दिनपछि बुधबार काठमाडौं सभागृहमा आयोजित एकता सभामा राणा र थापाले सहमति पत्र आदान प्रदान गरेका हुन् । एकीकरण घोषणा सभा हेर्न नेता/कार्यकर्ताको बाक्लो उपस्थिति थियो।

एकता सभामा अध्यक्ष थापाले खल्तीबाट गीताको सानो पुस्तक निकाल्दै भने- म कहिल्यै पार्टी फुटाइदिनँ। थापाले यसोभन्दा कार्यकर्ताले ताली बजाएर स्वागत गरे।

लगत्तै बोलेका अर्का अध्यक्ष लोहनीले पनि गीता छोएर भने, ‘चिन्ता नगर्नुस्, यो पार्टीलाई एक बनाएर लैजान्छौं। यहाँ गीता पनि रहेछ, वचन नै ठूलो कुरा हो। हामी धर्म र कर्ममा विश्वास गरेर जान्छौं।’

अर्का अध्यक्ष राणाले पनि हिन्दु राष्ट्र पुन: फर्काएरै छाड्ने र आफूहरूले दुई तिहाइ ल्याउनेसम्मको भाषण गरे।

दुई वर्षपछि मिलेको राप्रपामा सामुहिक नेतृत्वअनुसार अघि बढ्ने, पार्टीको नीति र सिद्धान्त पूर्ण धार्मिक स्वतन्त्रतासहित धर्म सापेक्ष हिन्दु राष्ट्र, साझा संस्थाका रूपमा राजसंस्था स्वीकार गर्नेलगायत एजेन्डामा सहमति भएकाे छ ।