भारतमा ११ राज्यमा फैलियो कोरोना संक्रमण


हरेकपल March 12, 2020

काठमाडौं, २९ फागुन । भारतमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ। सबैभन्दा बढी संक्रमित केरल राज्यमा भेटिएका छन् भने उत्तरदेखि दक्षिणका ११ राज्यमा संक्रमण फैलिएको छ।

राज्यगत रुपमा महाराष्ट्रमा ५, केरलमा १४, कर्नाटकमा ४, तमिलनाडुमा १, राजस्थानमा ३, तेलंगानामा १, जम्मु कश्मीरमा १, लद्दाखमा २, दिल्लीमा ७, हरियाणामा १४ र उत्तर प्रदेशमा ७ जनामा कोरोना भएको पुष्टि भइसकेको छ।

कोरोना बढेपछि भारतीय सरकारले देशभरका सबै विमानस्थलमा यात्रीहरुमाथि निगरानी बढाउने भएको छ भने केन्द्र सरकारले बन्दरगाहमा अन्तर्राष्ट्रिय जहाजको प्रवेशमा रोक लगाएको छ।

राज्य सरकारहरुले पनि सतर्कता अपनाएका छन्। श्रीनगर र लद्दाखमा सबै स्कुल तथा कलेज बन्द गरिएका छन् भने केरलमा सिनेमाघरहरु ३१ मार्चसम्म बन्द गरिएका छन्। यस्तै, सबरीमाला मन्दिरमा श्रद्धालुलाई पनि रोक लगाइएको छ।

भारत सरकारले विदेशबाट आउनेहरुका लागि १५ अप्रिलसम्मका लागि भिसा रद्द गर्ने निर्णय गरेको छ।