विप्लव समूहको कब्जामा परेकी बालिकालाई प्रहरीले मुक्त गर्यो, १४ कार्यकर्ता पक्राउ


हरेकपल March 12, 2020

काठमाडौं, २९ फागुन । लडाकु बनाउने उद्देश्यले विप्लव समूहले कब्जामा लिएकी धनुषाको गणेशनाथ चारनाथ नगरपालिका ५ गौरीखेलकी १४ वर्षकी करिना तामाङलाई प्रहरीले मुक्त गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको स‌ंयुक्त टोलीले उदयपुरको कटारीबाट ती बालिकालाई कब्जामुक्त गरेको हो ।

बुधबार साँझ ५ बजेतिर अपहरणमा परेकी बालिकाको बिहीबार दिउँसो ३ बजेतिर उद्धार भएको हो । प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीका अनुसार प्रारम्भिक अनुसन्धानबाट विप्लव समूहले लडाकु बनाउने उद्देश्यले तामाङलाई कब्जा लिएको देखिएको छ ।

उद्धारका क्रममा प्रहरी र सशस्‍त्र प्रहरीको सं‌युक्त टोलीले १४ जना विप्‍लव समूहका कार्यकर्तालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर ताबिलका १८ वर्षकाम अविनाश तामाङ, गाईघाटका २० वर्षका आशिष लामा, ताप्लेजुङकी १६ वर्षकी रञ्जना राई, धनकुटा पाख्रिबासकी १९ वर्षकी अनिता राई, कैलालीकी १९ वर्षकी अनुष्का राउत रहेका छन् ।

त्यसैगरी, पक्राउ पर्ने अन्यमा मोरङ आइतबारेकी १७ वर्षकी सपना राई, भोजपुरका ४५ वर्षका मनोराम राई, मोरङका १५ वर्षका आशिष श्रेष्ठ र सिन्धुली जुवाडेका १९ वर्षका ईश्वर पुनमगर, इलाम फाकफोककी २० वर्षकी मुस्कान राई, इटहरीका २८ वर्षका विवेक खड्का, सर्लाही लालबन्दीकी १६ वर्षकी रीता कार्की, ताप्लेजुङ खोक्सिङका २० वर्षका विकास राई, इलाम बतासेका १७ वर्षका आयुस मगर छन् ।

सशस्त्र प्रहरी प्रमुख डीआईजी राजु अर्यालले दिएको जानकारीअनुसार उनीहरुको साथबाट ११ वटा सकेट बम, ३ थान पेस्तोल र त्यसमा लाग्ने ९ राउण्ड गोली, एउटा प्रेसर कुकर, २ वटा खुकुरी, २ मिटर डेटोनेटर तार र २ थान मोवाइल सेट पनि बरामद भएको छ ।