घरेलु मदिरा सेवनका कारण धनुषामा ५ जनाको मृत्यु


हरेकपल March 13, 2020

धनुषा,३० फागुन । धनुषामा घरेलु मदिरा सेवनका कारण ५ जनाको मृत्यु भएको छ। क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा अत्यधिक मदिरा सेवनका कारण ५ जनाको मृत्यु भएको हो ।बुधबार र बिहीबार गरी उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ६५ वर्षीय गुद्री महरा, ३६ वर्षीय रामनारायण महरा,३५ वर्षीय ब्रहमदेव यादव, ४० वर्षीय विलास मण्डल र ३० वर्षीय राजु महरा छन् ।शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।

घरेलु मदिराकै सेवनबाट अर्का एकजना गम्भीर बिरामी परेका छन् । सिकिस्त बिरामी २७ वर्षीय इनरजीत महरालाई घोपा क्याम्प धरान पठाइएको प्रहरीले जनाएको छ ।