मिथकको कसीमा मेरो विज्ञान


हरेकपल March 13, 2020

बुबाआमालाई ईश्वरको अस्तित्वमा शङ्का थिएन । त्यही वातावरणमा म हुर्किएँ । फलतः म नास्तिक बनिनँ । आस्तिकता मभित्र पीपल बनेर हुर्किएको छ ।

ढोग्नका लागि घरमा बुबाआमाले किनेका धार्मिक पुस्तकहरू – रामायण, महाभारत, कृष्णचरित्र, स्वस्थानी, गीता आदि थिए र अहिले पनि छन् । बेलुकाको खानापछि बुबाआमाले ती पुस्तकहरू पढेर सुनाउन भन्नुहुन्थ्यो । म पढ्थेँ । उहाँहरू ध्यानमग्न सुन्नुहुन्थ्यो । यही सिलसिलामा मलाई ती पुस्तकहरू दोहोर्याई तेहेर्याई पढ्ने मौका मिल्यो ।

मेरो कलिलो उमेर अनि कारुणिक संयोग, वियोगका कथा । चराचुरुङ्गी, बोटविरुवालगायत मान्छेका एउटै भाषा । घोडा उडेको, रूख दौडेको, परेवाले चिठी ल्याएको, कागले सन्देश ल्याउने र लैजाने गरेको – यस्ता अनौठा कुराले मेरो मस्तिष्क कहिले भयानक सन्नाटाले ग्रहण लागेजस्तो त कहिले कोपिलाहरू फक्रिएर सुवासित भएजस्तो गरेर इन्द्रियभित्र र बाहिरका क्रिया र प्रतिक्रियाका अन्तक्र्रियामा हराउन थाल्यो । ‘कथा कसैका मिथक त हुन्, यी मिथ्या हुन्छन्’ भन्दै आफूलाई ढाढस त दिन्थेँ । परन्तु यो मान्न मन राजी हुँदैनथ्यो । मन ब्रह्माण्डको अस्तित्वको विषयमा सोच्न पुग्थ्यो । यो ब्रह्माण्ड कसको अवधारणा हो ? यो अपूूर्व संरचना कसलाई केका लागि आवश्यक भयो ? यहाँ हाम्रो उपस्थिति कसका लागि व्यापार हो ? यसका मालिक को हुन् ? उनी कहाँ छन् ? यस्ता अनन्त प्रश्नहरूको जालोमा दिमाग जेलिन थाल्यो ।

हुन त मलाई यी प्रश्नहरूको जवाफ मिथकले नै दिने गथ्र्यो । विज्ञानले यसको जवाफ दिन सक्तैन भन्नेमा मेरो विश्वास ढुक्क थियो । यद्यपि केही प्रमाणहरू जुट्छन् कि भनेर विज्ञान विषय रोजेँ, अध्ययनका लागि । गणित मन पर्दै जान थाल्यो । विज्ञान र गणितका नजरले चियाउन थालेँ । दशवटा टाउकावाला मिथक प्यारो लाग्न थाल्यो । ब्रह्माण्डीय चासोको विषयमा प्रतीकात्मक वर्णन मिथकमा पाउन थालेँ । वैश्विक सांस्कृतिक दृष्टिकोण निर्माणमा पनि मिथककै योगदान पाएँ । त्यसो त मिथक विज्ञानको कसीमा टिक्दैनन् भन्ने मलाई थाहा नभएको होइन, किनभने मिथक ÷कल्पनालाई प्रयोग गरी हेर्न सकिँदैनथ्यो । विज्ञान प्रयोगमा टिकेको हुन्छ, मिथक आस्थामा । फरक फरक यिनै अतिशयोक्तिहरूमा ब्रह्माण्डको अनन्त सम्भावना मुखरित भएको पाएँ । यिनैमा मानव उत्पत्तिका वर्र्णन पाएँ । यिनैमा सामाजिक मूल्य–मान्यतालगायत विश्वासलाग्दा कार्यपद्धतिहरू भेट्टाएँ । कल्पनाका लागि निकै पोषिला खुराकहरू पाएँ । एक्काईसौँ शताब्दीका महान् वैज्ञानिक आइन्स्टाइन स्वयम्ले कल्पनालाई ज्ञानको श्रीपेच बनाइदिएका छन् । न्युटन यो अद्भूत संरचनालाई भौतिक विज्ञानले काँध थाप्न सक्तैन भन्ने गर्थे । भौतिक विज्ञानका पिताहरू स्वयम् मिथक÷कल्पनाको उपासनामा ब्रह्माण्डको रहस्य उद्घाटन हुुन्छ भन्नेमा विश्वस्त भएको प्रमाणले मलाई अझ मिथक मिठो लाग्न थाल्यो । यसर्थ अहिलेसम्म मिथक÷आस्थाको सामु ज्ञान–विज्ञान टाउसिरहेको देख्छन् मेरा आँखाले ।

म विज्ञान र गणित पढाउने शिक्षक । जहाँ मत–मतान्तर हुन्छन्, त्यहाँ नौनीजस्तै निचोड जन्मिन्छ भन्नेमा मेरो मत अटल छ । यसैले मलाई दर्शन मनपर्छ । किनकि दर्शन पनि मिथककै सन्तान हो, जहाँ मत–मतान्तर भैरहन्छन् ।

यसर्थ मेरा गजलमा मिथक, दर्र्शन, विज्ञान र गणितका विम्बहरू प्रतिविम्बित हुन्छन् ।