अवकाशका भित्ताहरूमा जीवनको गति


हरेकपल March 13, 2020

आजभोलि चराहरूको स्वरसँगै
ब्युँझनु पर्दैन मैले
कोइलीको सुमुधुर आवाजसँगै
झकझकिनु पर्दैन मैले

जिन्दगी एकतमासको गीत गाइरहेछ ।

सधैँसधैँ आफ्नो घरको आँगनीमा
सूर्यका किरणहरू भुइँमा खस्न नपाउँदै
सुरू हुने मेरा यात्रा
हिजोआज मौन बस्न थालेका छन्
अस्थिर भई बग्ने मेरा दैनिकी
स्थिर हुन थालेका छन्
र म स्वतन्त्रता ब्युँझिएकी छु ।

कार्यालयको हाजिरी रजिस्टर सँगको
दशकौँ पुरानो सम्बन्धलाई
छोडपत्र गरेजस्तै
अलग भएकी छु ।

मेरा प्रिय साथीहरू
जो सधैँसधैं भेटिइरहने
एउटै छानामुनिको कार्यथलो
एउटै परिसर
अनि आपसी मित्रता
सबैसबै सपनाझैं लाग्न थालेका छन् ।

बजिरहूँन् बिहानीपख भान्साकोठामा
प्रेसरकुकरका सिट्ठी
र गुडिरहूँन् सडकमा
खाली रिक्सा, अटो वा मिनीबसहरू
अतालिँदैन मन
ढसमस ढल्किरहेछ दिनको उज्यालो ।

मलाई मेरै घरको चारघेराभित्र छाडेर
फर्किसकेका छन्
सारा हतारो र चटारोहरू ।

अवकाश पछिका दिनहरू
दश बज्नुको हाराहारीमा
बिहानी छिप्पिएर उकालो चढ्न थाल्छन्
घडीको सुई
ठीक त्यही मुहूर्तमा हरेकदिन
पोखरी बनेर जमेझैं
एकाएक
नदीको प्रवाह टक्क रोकिएजस्तो लाग्छ
अवकाशका भित्ताहरूमा जीवनको गति ।